इंग्लिस प्रिमियर लिग : सिटीले जित्दा युनाइटेडको हार

इंग्लिस प्रिमियर लिग : सिटीले जित्दा युनाइटेडको हार


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटलमा म्यानचेस्टर सिटी विजयी भएको छ। शनिबार राति भएको खेलमा सिटीले एफएसी बर्नमाउथलाई १–० गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा फिल फोडेनले २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो। जितसँगै सिटी ५९ अंकका साथ दोस्रो स्थानमा यथावत रहेको छ। पराजित भएको बर्नमाउथ भने १४ औं स्थानमा रहेको छ।

यस्तै, प्रिमियर लिगको अर्को खेलमा म्यानचेस्टर युनाइटेड भने पराजित भएको छ। युनाइटेड फुलह्यामसँग २–१ गोल अन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका थिए।

फुलह्यामका लागि काल्भिन बेसेसले गोल गर्दै ६५ औं मिनेटमा अग्रता दिलाएका थिए। ८९ औं मिनेटमा युनाइटडका लागि ह्यारी मगुएरले बराबरी गोल फर्काएका थिए। तर, अतिरिक्त समयको सातौं मिनेटमा फुलह्यामका लागि एलेक्स इओबीले गोल गर्दै फुलह्यामलाई २–१ को जित पक्का गराए। फुलह्याम ३२ अंकका साथ तालिकाको १२ औं स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ४४ अंकका साथ छैटौं स्थानमा छ।

यसैगरी आर्सनलले न्युक्यासल युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दा क्रिष्टल प्यालेसले बर्नलेलाई ३–० गोल अन्तरले स्तब्ध बनाएको छ। एस्टन भिल्लाले नटिङघम फरेस्टलाई ४–० गोल अन्तरले पराजित गर्दा ब्राइटन र एभर्टनले भने एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका थिए।