समूह विजेता बन्दै नेपाल वाफको सेमिफाइनलमा

समूह विजेता बन्दै नेपाल वाफको सेमिफाइनलमा


काठमाडौं ।

साउदी अरेबियामा जारी वाफ महिला च्याम्प्यिनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ। एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले शनिबार राति भएको खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो।

पराजित भएको प्यालेस्टाइन उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्यो। समूह चरणको अन्तिम खेलमा नेपाललाई जित दिलाउन नेपाली गोल मसिन सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गर्दा रेखा पौडेल र गिता रानाले समान एक–एक गोल गरे।

खेलको ४२ औं मिनेटमा सावित्राले रेखा पौडेलको पासमा गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो।

६० औं मिनेटमा सावित्राले प्रहार गरेको बल पोस्टमा लागेर फर्किँदा अनमार्क रहेकी रेखाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। ७९ औं मिनेटमा रश्मी घिसिङको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ३–० ले अघि बढेको थियो।

दोस्रो हाफको अतिरिक्त समयमा नेपालले पेनाल्टी पाएको थियो। सावित्रालाई प्यालेस्टाइन खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई गिता रानाले गोलमा परिणत गरेपछि अन्ततः नेपाल ४–० को सहज जित निकाल्दै समूह विजेता बनेको हो।

नेपालले सेमिफाइनलमा लेबनानसँग खेल्दा प्यालेस्टाइनले जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ।