‘क्वीन’ रिलिजको दश वर्षपछि ‘क्वीन-२’

‘क्वीन’ रिलिजको दश वर्षपछि ‘क्वीन-२’


काठमाडौं ।

दश वर्षअघि बक्सअफिसमा हिट साबित भएको फिल्म ‘क्वीन’को सिक्वेल आउने भएको छ। अभिनेत्री कंगना रनावत एकपटक पुनः ‘क्वीन’ का रुपमा दर्शकमाझ आउन लागेकी हुन्।

निर्देशक विकास बहलका अनुसार ‘क्वीन २’को स्क्रिप्ट लक भइसकेको छ। सन् २०१४ मा रिलिज फिल्म ‘क्वीन’ बक्सअफिसमा हिट साबित मात्र भएन, यसले राम्रो समीक्षा र दर्शकको माया पनि उत्तिकै पाएको थियो। बिना विवाह एक्लै हनिमुनमा जाने युवतीको कथा समेटिएको फिल्मले धेरैको मन जितेको थियो।

गत वर्षमात्र निर्देशक बहलले आफूले ‘क्वीन’को सिक्वेलमा काम गरिरहेको स्वीकारेका थिए। ‘क्वीनले स्तरलाई निकै माथि पुर्याइदियो। तर मलाई यो भन्दा खुशी लागेको छ कि मैले वास्तवमै कथा पुरा गरे। यसकारण अब सिक्वेल बन्ने निश्चित नै भएको छ’, बहलले भनेका छन्।

आउँदो मार्च महिना बहलका लागि विशेष छ। त्यो किनपनि भने फिल्म टिमले ‘क्वीन’ रिलिज भएको मार्च ७ तारिखमा १० औं वर्षगाँठ मनाउँदैछन्।