अष्ट्रेलियामा छायांकन गरिने ‘रुमानी रङ’ मा धिरज र साम्राज्ञीको जोडी

अष्ट्रेलियामा छायांकन गरिने ‘रुमानी रङ’ मा धिरज र साम्राज्ञीको जोडी


काठमाडौं ।

मुख्य पात्रको भूमिकामा कलाकार धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह रहने फिल्म ‘रुमानी रङ’को राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको छ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालिसँग आविष्कार बाहु सञ्चार प्रालिको सहकार्यमा निर्माण हुने फिल्ममा अनिल योञ्जनको निर्देशन रहनेछ। फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पछि धिरज र साम्राज्ञी पुनः सहकार्य गर्न लागेका हुन्। अभिनेत्री साम्राज्ञीले फिल्मको कथा मन परेपछि आफूले काम गरेको बताइन् । उनले धिरजसँग पुनः सहकार्य गर्न पाउनु आफ्ना लागि अर्को खुशीको कुरा भएका बताइन्।

अभिनेता धिरजले फिल्मको अफर आएपछि कथा सुनेको र कथा मनपरेकाले अभिनय गर्न इच्छुक भएको खुलाए। उनले पछिल्लो समयमा नेपालमा प्रेमकथाका फिल्महरु कम मात्र बनिरहेको अवस्थामा ‘रुमानी रङ’ले दर्शकलाई फरक स्वादको प्रेमकथा दिने दाबी गरे।

निर्देशक योञ्जनले फिल्मले प्रेमलाई कमेडीको लयमा भन्ने बताए । अनिलले यसअघि फिल्म ‘डायरी’ निर्देशन गरेका थिए। फिल्ममा अनिलकै पटकथा तथा संवाद पनि रहनेछ।

जीएम ठकुरीको प्रस्तुतिमा बन्न लागेको फिल्मको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन्। फिल्ममा महेश पौडेलको छायांकन हुनेछ। निर्देशक योञ्जनका अनुसार आगामी वर्षका वैशाखबाट छायांकनमा जाने फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा गरिने छ।