सिड्नीमा सर्वाधिक पुरस्कार राशिको ‘अवनी प्रिमियर लिग’ हुँदै, उपाधिका लागि ८ टिम भिड्ने

सिड्नीमा सर्वाधिक पुरस्कार राशिको ‘अवनी प्रिमियर लिग’ हुँदै, उपाधिका लागि ८ टिम भिड्ने


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको सिड्नीमा सर्वाधिक पुरस्कार राशिको ‘अवनी प्रिमियर लिग’ हुने भएको छ। अवनी रियल इस्टेट र अवानी क्रिकेट क्लबले संयुक्त रुपमा आयोजना गरेको ‘अवनी प्रिमियर लिग २०२४’ मार्च १० देखि जुन ३० तारिखसम्म हुन लागेको हो। 

टी–२० फरमेटमा खेलाइने उक्त प्रतियोगिताका खेलहरु एभर्ली पार्क चेस्टर हिलमा हुने आयोजकले जनाएको छ। स्थापनाको पाँच महिनामै क्लबले सर्वाधिक पुरस्कार राशिको अवनी प्रिमियर लिग २०२४ को आयोजना गरेको क्लबका संस्थापक सन्जय पाण्डेले बताए। नेपाली समूदायमा क्रिकेटको स्तर विकास, क्रिकेटको प्रवर्धन र विदेशमा भए पनि विभिन्न कारणले क्रिकेट खेल्न नसकेका खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको उनले बताए। 

अवनी क्रिकेट क्लब, एक्स्ट्राटेक क्रिकेट क्लब, कङ्गारु क्रिकेट क्लब, रोयल खुकुरी, अमदब्लम ब्लेजर, सगरमाथा क्रिकेट क्लब, वारियर्स क्रिकेट क्लब र लीगुरास क्रिकेट क्लबले अवनी प्रिमियर लिग २०२४ को उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए। 

लिगका विजेताले १० हजार अष्ट्रेलियन डलर, उपविजेताले तीन हजार अष्ट्रेलियन डलर नगद, मेडल र प्रमाण पत्र पाउने अवनी क्रिकेट क्लबका संस्थापक पाण्डेको भनाइ छ। 

आइतबार सिड्नी पत्रकार सम्मेलनको आयोजना गरी अवानी क्रिकेट क्लबले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ। उक्त पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ अष्ट्रेलियाका करण श्रेष्ठ, सुमन गोपाली, किंग्सग्रोभ स्पोर्ट्सका रोहित खत्री, नैपलाका कप्तान विकेश जोशी, म्यानेजर संजय बस्नेत, रेय प्रोपर्टीजका पासाङ शेर्पा, बुद्ध भूमिका कप्तान युवराज मल्ललगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको संचालन मदन कोइरालाले गरेका थिए।