नक्कली पुजारी अष्ट्रेलिया भित्र्याउने खेल, एनआरएनको नाममा फर्जी चिठ्ठी काण्ड

नक्कली पुजारी अष्ट्रेलिया भित्र्याउने खेल, एनआरएनको नाममा फर्जी चिठ्ठी काण्ड


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलिया नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । तर, पढ्न नचाहने अनि कमाउने चाहनेहरुले विभिन्न बहानामा मानव ओसारपसार पनि गराइरहेकै हुन्छन् । यही मेलोमा यहाँको नेपालीहरुको प्रतिनिधिमूलक संस्था एनआरएन अष्ट्रेलियाको नामको समेत दुरुपयोग भएको प्रमाण प्राप्त भएको छ ।

केविसीखबरलाई प्राप्त एक पत्रमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको लेटरहेडमा वर्तमान अध्यक्ष अनील पोखरेलको हस्ताक्षरसहित एक व्यक्तिलाई अष्ट्रेलिया आउने निम्ता मात्र गरिएको छैन । उसको आतेजाते टिकटसहित यहाँ बस्ने लगायत सम्पूर्ण व्यवस्थापन पनि एनआरएनले नै गर्ने लेखिएको छ । यो पत्र सहित भिसा अप्लाई गर्दा भिसा नलागेपछि यो प्रकरण बाहिर आएको हो ।

पत्रमा आगामी मार्च २४ तारिख सिड्नीको बरउडमा आयोजना गरिने होली कार्यक्रमका लागि नेपालबाट पुरोहित बनाई एक व्यक्तिलाई कार्यक्रममा निमन्त्रण गरिएको छ । केविसीको बुझाईमा निज व्यक्ति पुरोहित भने होइनन । उनलाई नक्कली पुरोहित बनाएर यहाँ ल्याउने गिरोहले यस्तो कार्य गरेको पाइएको हो ।
पत्रको विवरण यस्तो छ –


हामीले यस विषयमा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेलसँग सम्पर्क गर्दा उनले आफुलाई यो विषय थाहा नभएको बताए । पोखरेलले यसको कानूनी उपचार खोजिने र कारवाहीको दायरामा ल्याइने पनि जानकारी दिएका छन् ।

अष्ट्रेलियाको कानून अनुसार नक्कली कागजपत्र बनाउने, पेश गर्ने लगायतको काम फौजदारी अभियोग बन्दछ । जसमा राज्यले नै अपराधीलाई कारवाहीको दायरामा ल्याउनका लागि मुद्दा दायर गर्दछ । साथै, यस्तो कार्यमा संलग्न भएको व्यक्ति या समूहलाई प्रमाणित भएको अवस्थामा देश निकालासम्मको कारवाही हुने गर्दछ । यस्तो मुद्दामा जरिवाना तथा जेल सजाय समेत हुन्छ ।

पछिल्लो समय नेपाली समूदायका नाममा खोलिएका विभिन्न संघ संस्थामा कलाकार, पत्रकार या मनोरञ्जनकर्ताको नाममा आफन्तलाई बोलाउने या रकम लिएर यस्तो काम गर्ने र यहाँ आइसकेपछि विद्यार्थी भिसामा परिवर्तन गरिदिने लोभ देखाउने गरेका घटनाहरु भइरहेको सूचना आएपछि प्रमाणसहित भने यो एनआरएन फर्जीकाण्ड बाहिरिएको हो ।

मेलबर्नमा सञ्चालित म्याक्सीम्याक्स एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक एवं माईग्रेसन एजेन्ट एवं एनआरएन अष्ट्रेलियाका सल्लाहकार शंकर धरेल नक्कली कागजात बनाएर अध्यागमनमा पेश गर्ने कार्य अपराधिक भएको बताउँछन् । उनी यस्तो कागजात बनाउनेहरुलाई सार्वजनिक गरी कारवाही समेत गराउनुपर्ने धारणा राख्छन् । उनले भने, “फर्जी कागजातको विषयमा पहिलो छानविन गर्ने कार्य कर्तव्य माईग्रेसन एजेन्टको समेत रहन्छ । यस्तो कर्तव्य पूरा नगरेको अवस्थामा निज समेत कारवाहीभागी हुन जान्छ । एनआरएनले कुन कार्यक्रम गरिरहेको हो या हैन भन्ने कुरा साधारण छानविनबाट पनि पत्ता लाग्न सक्छ । यस्तो कार्य जानीजानी गर्ने र गराउने दुबै पक्ष यसमा दोषी हुन जानेछन् ।”

नक्कली कागजात पेश गर्ने आवेदक तीन वर्षसम्म अष्ट्रेलिया आउन नपाउने गरी प्रतिबन्धित हुने प्रावधान छ ।

एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेलले यो विषयले आफुलाई गम्भीर बनाएको प्रतिक्रिया दिए ।