गजल साँझका लागि ब्रिजबेन आइपुगे राज सिग्देल

गजल साँझका लागि ब्रिजबेन आइपुगे राज सिग्देल


ब्रिजबेन अष्ट्रेलिया ।

फेब्रुअरी २३ तारिखमा हुने एकल गजल साँझका लागि गायक राज सिग्देल ब्रिजबेन आइपुगेका छन्। गायन क्षेत्रमा पृथक पहिचान बनाएका गायक सिग्देलले शुक्रबार ब्रिजवेनको मिचेल्टनको सिनियर सिटिजन क्लबमा आफ्नो प्रस्तुति दिनेछन्।

ब्रिजवेन आइपुगेका सिग्देललाई आयोजक ब्रिजवेन बिसौनीका तर्फबाट केशव शर्मा, केबीसीका ब्रिजवेन समाचार संयोजक किरण खनाल र एनआरएनए ब्रिजवेनका निवर्तमान संयोजक बिनोद भक्त आचार्यले एरपोर्टमा स्वागत गरेका थिए। सो अवसरमा अन्य ब्रिववेनवासी नेपालीहरुको पनि उपस्थिति रहेको थियो।

चर्चित गायक राज सिग्देलले ब्रिसबेनमा स्थानीय संगीतकारहरुको साथमा प्रस्तुति दिने केशव शर्माले केबीसी खबरलाई जानकारी दिए। नेपाली परिकारसहितको स्वादिष्ट खानाको व्यवस्था गरिएको कार्यक्रममा पुरानो र समसामयिक नेपाली गजल र गीतहरू सुनेर आनन्द लिन सकिने उनले बताए। ब्रिजवेन बिसौनीले जुराई दिएको यो अवसरलाई सदुपयोग गर्न ब्रिजवेनवासी नेपालीलाई उनले आग्रह गरेका छन्।

तबला वादक धिरज श्रेष्ठ र बाँसुरी बाधक सुरेश श्रेष्ठले गायक सिग्देललाई साथ दिनेछन्। साँझ ६ बजेबाट सुरु हुने गजल साँझमा कार्यक्रममा स्थानीय कलाकारहरुको पनि छोटो प्रस्तुति रहने शर्माले बताए।

एक्सपर्ट एजुकेशनले टाइटल स्पोन्सर गरेको कार्यक्रमको टिकट २५ अष्ट्रेलियन डलर तोकिएको उनले जानकारी दिए। कार्यक्रमको टिकट बिक्रीबाट उठेको रकम भविष्यमा सामाजिक कार्यमा खर्च गरिने शर्माको भनाइ छ। सिट संख्या सीमित रहेकाले समयमै टिकट खरिद गरी आफ्नो सिट सुरक्षित गर्न ब्रिजवेनवासी नेपालीलाई शर्माले आग्रह गरेका छन्।

राजको चर्चित गीत ‘उ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई’ गीतलाई जति चोट दिन्छौं देउ मायालु र गुलाम अलिको प्रसिद्ध गजल चुप्के चुप्के रात दिन आँसु बहाना आदी थुप्रै गजल छन्।