काठमाडौँ ।
नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि दुई सय १७ रनको चुनौती दिएको छ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय १६ रनको योगफल बनाएको हो।
नेपाल ‘ए’ का लागि बसिर अहमदले सर्वाधिक ५० रनको योगदान दिए। उनले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतले अविजित ५० रन बनाएका हुन्। त्यसैगरी रासिद खानले ४० रन बनाए भने मयन यादवले ३५ रन जोडे। किरण ठगुन्नाले २५, विवेककुमार यादवले २१ र सन्दीप जोराले १४ रन बनाए।
क्यानडका लागि कप्तान साद बिन जाफले तीन विकेट लिए भने इश्वरजीत सोहीले दुई विकेट झारे। त्यस्तै डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले समान एक÷एक विकेट लिए।
प्रतिक्रिया