महतन्त्रमा मह जोडी : ‘सफलता काट्दै फुर्सद छैन, कुरा किन काट्नु’

महतन्त्रमा मह जोडी : ‘सफलता काट्दै फुर्सद छैन, कुरा किन काट्नु’


पोखरा ।

कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन। उनीहरूको जोडी ४४ वर्षदेखिको हो। शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन्।

तिनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवा ताल किनारमा गफिए। बुकवर्म फाउन्डेसनले आयोजना गरेको ११औँ लिटरेचर फेस्टिभलको महतन्त्र सत्रमा मह जोडी मदनकृष्ण र हरिवंशलाई वसन्त बस्नेतले सहजीकरण गरेका थिए। कार्यक्रम अवधिभर मदनकृष्ण र हरिवंशले एक अर्काको सम्मानमा शब्द खर्चिए।

मदनकृष्ण र हरिवंशको सहकार्य ४ दशक लामो भइसकेको छ। तर, हालसम्म उनीहरुबीच न खोट देखिन्छ न खटपट नै। अझै पनि उनीहरू सधैँ भन्ने गर्छन्, ‘मह जोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्ने हो।

स्वभाव अनुरूप ठट्यौली शैलीमा प्रस्तुत भएका हरिवंशले आफू बिरालो र मदनकृष्ण दूधको भएको बताए। ‘मदनलाई बिरालो भनौँ भने चित्त दुखाउनुहुन्छ होला। मदन दाइ दूध हो। म बिरालो हो। अनि दूधको साथी बिरालो,’ उनले भने।

फेवा किनारमा गाफिलै मदनकृष्णले हरिवंशलाई बदलाको भावना नलिने गरेको बताउँछन्। ‘५–७ वर्ष उमेर कान्छो छ। म उसलाई एकदमै सम्मान गर्छु। म गुरु जस्तो व्यवहार गर्छु हरिवंशलाई। कहिले गुरु जस्तो कहिले छोरा जस्तो कहिले भाइ जस्तो मायालु व्यवहार गर्छौँ हामी,’ हरिवंशलाई हेरेर मुस्कुराउँदै मदनकृष्णले भने, ‘एक–आपसमा बदलाको भावना कहिले नलिने। हरिवंशले कहिले बदलाको भावना लिएको छैन। मैले पनि जे सुकै गरोस् हरिवंशलाई बदलाको भावना लिँदैन भन्ने मेरा अठोट छ।’

कामका क्रममा इगो आउँदैन भन्ने प्रश्नमा मदनकृष्णले काममा इगो आए एक मनलाई अर्को मनले सम्झाउने गरेको बताए। ‘इगो आउँछ हो। आए पनि एउटा मनलाई अर्को मनले सम्झाउँछ। हरिवंशलाई फुर्ती गरेर मदनकृष्ण बन्न सक्दिनँ। इगो गरेर केही फाइदा छैन। इगो नगर्दा फाइदा हुन्छ भने कसले इगो गर्नतर्फ लाग्छ,’ उनले भने।

हरिवंशले मदनकृष्णलाई कसैले केही भन्दा आफ्नो चित्त दुख्ने बताए। उनले पनि मदनकृष्णलाई फुर्काउँदै भने, ‘म त चोर्छु पनि झुट पनि बोल्छु। सबैलाई माया गरेर साध्य पनि हुँदैन। गाली पनि गर्छु कतिलाई चित्त पनि बुझाउँछु। तर, मदन दाइको कहिले पनि चोर्दिनँ। र उहाँको हृदय मेरो जस्तो छ। कसैले केही भन्दियो भने मलाई चित्त दुख्छ। मैले पनि मदनलाई मै सम्झिन्छु।’

एकले अर्कोलाई सफलताको कारण जस दिने गरेको मदनकृष्णले बताए। ‘पद र पैसामा लोभ नगर्ने । पद र पैसामा लोभ हुन सक्छ। हामीमा पनि लोभ छ। तर, हामी लोभिएका छैनौँ। अर्को कुरा एकले अर्कोलाई सफलताको कारण जस दिन्छौँ,’ उनले भने, ‘मेरो सफलताको जस हरिवंशलाई दिन्छु। हरिवंश तिमीले गर्दा यो राम्रो भो भनेर।’

चित्त नबुझेको कुरा मासमा बसेर होइन। दुई जना बसेर निस्ताउने अनि सबैको अगाडि एकले अर्कोको प्रशंसा मात्र गर्ने। कुनै पनि समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूमा मनमा चोट पुग्ने शब्दहरू नबोल्नका लागि सचेत हुने। मह जोडी भन्ने नामलाई जीवनको अन्त्यसम्म कायम राख्ने। यसलाई जीवनको कमाई भनेर सम्झिने। यसका लागि सबै नेपालबाट सहयोग पाएका छौँ।

मदनकृष्णको मित्रतापछि आफूहरूलाई फलिफाप भएको हरिवंशले बताए। ‘म मदन दाइ किन इमानदार हुन्छ भने मेरो आफ्नो स्वार्थले पनि हो। म स्वार्थी पनि छु। मदन दाइसँग मित्रता गरेर फलिफाप भएको छ। घाटा केही पनि छैन,’ उनले भने।

सहकार्यपछि कहिले पछाडि फर्केर हेर्नु नपरेको हरिवंशले बताए। उनले भने, ‘यस्ता चाहिँ पेसागत स्वार्थ पनि छ। सबैभन्दा ठुलो स्वार्थ भनेको पेशागत स्वार्थ। हामी दुई जना मिलेर सहकार्य गरेपछि कहिले पनि पछाडि फर्केर हेर्नुपरेन। र सफलताको सिढि उक्लिँदै उक्लिँदै यहाँसम्म आइपुगिन्। अब यो भन्दा तल नखसोस् भन्ने पनि अर्को स्वार्थ छ।’

‘आर्थिक उपार्जन गर्ने प्रवृत्ति मित्रता टिक्दैन’
मदनकृष्ण र हरिवंश दुवैले आफूहरू दुवै अध्यक्ष जस्तो भएको बताउँदै आएका छन्। आर्थिक उपार्जन गर्ने प्रवृत्ति भएकाले मित्रता नटिक्ने गरेको हरिवंश बताउँछन् । तर, आफूहरूमा सात पुस्तालाई कमाउने प्रवृत्ति नभएको उनी सुनाउँछन्।

उनी भन्छन्, ‘हामीलाई अथाह अर्थात् सात पुस्तालाई कमाउने त्यो प्रवृत्ति छैन। राजनीतिक पार्टीमा केही नेताहरू बाहेक अरुअरुलाई चाहिँ दण्डहीनताको केही पनि सीमा छैन। जसले जति कमाए पनि जे गरे पनि त्यो मान्छे जेलमा बसेको इतिहास भर्खर भर्खर सुन्न पाइएको छ। जसरी आउँछ खल्तीमा राख्यो। आर्थिक उपार्जन गर्ने प्रवृत्ति भएकाले मित्रता टिकेन।’

आफूले मदनकृष्णलाई कहिले जित्न नखोज्ने हरिवंशले बताए। ‘मदन दाइलाई कहिले म जित्न खोज्दै खोज्दैन। मदन दाई सँगसँगै आम्दानी पनि कमाइराखेको छु। नाम पनि कमाई राखेको छु। जब एक्लै कमाउँछु भनेर हिँड्यो भनेदेखि इगो बढ्यो देखि यो चिजहरू सकिएर जान्छ,’ उनले भने।

मदनकृष्णले पञ्चायतकलामा घुमाउरो ढङ्गले हास्यव्यङ्ग्य गर्नुपर्ने बाध्यता बताए। ‘पञ्चायतकलामा घुमाउरो ढङ्गले हास्यव्यङ्ग्य गर्नुपर्ने बाध्यता थियो। त्यसरी भन्दा कलात्मक हास्यव्यङ्ग्य हुन्थ्यो। अहिले जस्तो सिधै भन्ने परिस्थिति थिएन। सकेसम्म सिधै नभनौंजस्तो लाग्छ। अहिलेका नयाँ कलाकारको व्यङ्ग्य राम्रो छ। घुमाएर साहित्य मिसाएर भन्दा रमाइलो लाग्छ मलाई,’ उनले भने।