अनिल र भिमको शतकमा क्यानाडामाथि नेपालको शानदार जित

अनिल र भिमको शतकमा क्यानाडामाथि नेपालको शानदार जित


काठमाडौँ ।

क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले ‘क्लिन स्विप’गरेको छ। सोमबार भएको तेसे तथा श्रृंखलाको अन्तिम खेलमा ९ विकेटको जित निकाल्दै नेपालले श्रृंखलामा क्लिन स्विप गरेको हो।

क्यिानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्याे। नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे। दुवैले शतक प्रहार गरे। अनिल ११२ र भीम १०१ रनमा अविजित रहे। कुशल भुर्तेलले १३ रनको योगदान दिए।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो।

क्यानडाका लागि नभनीत धलिवालले सर्वाधिक ५० रन बनाएका थिए। त्यस्तै, आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे।

बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए। नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो।