काठमाडौं ।
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालले आइतबार भुटानलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६५ रनमात्र बनाएको थियो। ६६ रनको लक्ष्य नेपालले ११।५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।
नेपालको जितमा सिता रानामगरले ३२ रनको नटआउट पारि खेलिन्। उनले ३७ बल फेस गर्दा १ छक्का र २ चौका प्रहार गरिन्। यसैगरी रुविना क्षेत्रीले १ छक्का र १ चौकाको मद्दतले २४ बलमा १७ रनको नटआउट पारि खेलिन्। कविता कुँवर ५ तथा कप्तान इन्दू वर्मा १ रनमा पभेलियन फर्किएका थिए। भुटानका लागि अञ्जु गुरुङ र अञ्जुली घलेले एक एक विकेट हात पारे।
पहिला ब्याटिङ गर्दा भुटानका लागि नवाङ छोडेनले सर्वाधिक २५ रन बनाउँदा कप्तान डेचेन वाङ्गमोले १७ तथा छिरिङ जान्ग्मोले १६ रनको पारि खेलिन्। नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दू वर्मा र कविता जोशीले समान एक एक विकेट हात पारे।
लगातार दोस्रो जितसँगै नेपाल समूह डीको शीर्ष स्थानमा रहेको छ। यही समूहमा रहेको अर्को खेलमा आइतबार हङकङ र माल्दिभ्स आमने सामने हुने छन्। उक्त खेलमा हङकङ विजयी भए नेपाल एक खेल अगावै क्वाटरफाइनलमा पुग्ने छ। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार माल्दिभ्ससँग खेल्ने छ।
प्रतिक्रिया