क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य


काठमाडौँ ।

क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले २ सय ८६ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर कप्तान साद बिन जफरले ब्याटिङ गर्ने निणर्य गरेपछि क्यानडाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनायो।

क्यानडाले राम्रो सुरुवात गरेपछि नेपाली बलरलाई ओपनर द्वय आरोन जोन्सन र नवनित धलिवलको साझेदारी तोड्न ९४ रन खर्चनु परेको थियो। ओपनर आरोन जोन्सनले अर्धशतक बनाउँदा अर्का ओपनर नवनित धलिवल भने ४६ रनमा आउट भए। पहिलो विकेट गुमाउँदा क्यानडाका लािग यी दुईले ९४ रन जोडेका थिए। १९ औं ओभरमा आकाश चन्दले धलिवललाई कट बिहाइन्ड गर्दै नेपालका लािग पहिलो विकेट दिलाएका थिए।

त्यसपछि खेलको ३५ ओभरको समाप्तिमा आइपुग्दा क्यानडाले ५ विकेट गुमायो। २३ औं ओभरमा जोन्सन रनआउट भए। ६२ बलमा १० चौका र २ छक्कासहित ६५ रनमा खेल्दा उनी भीम सार्कीको थ्रोमा रनआउट भएका थिए। त्यसपछि तेस्रो विकेटका लागि पर्गत सिंह र निकोलस किर्तनले ५३ रनको साझेदारी गरे।

कप्तान रोहितले एकै ओभरमा दुई जनालाई आउट गर्दै नेपाललाई खेलमा फर्काए। पर्गत ३८ बलमा ३८ रन जोड्दै सोमपालको हातबाट समातिए। त्यस्तै किर्तन २० रनमा स्टम्पिङ आउट भए।

३५ औं ओभरमा सूर्य तामाङले हर्ष ठाकरलाई ३ रनमा आउट गराए । सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौं नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे। ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट हुँदा भागवन २० रनमा नट आउट रहे।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २–२ विकेट लिए। यस्तै, आकाश चन्द, ,सूर्य तामाङ ,पवन सर्राफ र सोमपाल कामीले समान १ विकेटक लिए।

नेपाली टोलीमा ३ खेलाडी परिवर्तन गरेको नेपालले आकाश चन्दलाई डेब्यु गराएको थियो। चन्दले १९ औं ओभरमा धलिवललाई कट बिहाइन्ड गर्दै नेपाललाई पहिलो सफलता मात्र दिलाइनन् आफ्नो करिअरको डेब्यू विकेट पनि लिए।