कतार एएफसी एसियन कपको फाइनलमा, उपाधिका लागि जोर्डनको सामना गर्ने

कतार एएफसी एसियन कपको फाइनलमा, उपाधिका लागि जोर्डनको सामना गर्ने


काठमाडौं ।

घरेलु तथा डिफेन्डिङ च्याम्पियन कतार एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा इरानविरुद्ध ३–२ गोलको पुनरागमन जित दर्ता गर्दै कतारले फाइनलमा स्थान बनाएको हो।

कतारविरुद्ध इरानले सुरुमै गोल गर्दै अग्रता लिएको थियो। खेलको चौथो मिनेटमा इरानका सरदार अजमुनले गोल गरेका थिए। तर, १७ औं मिनेटमा कतारले बराबरी गर्न सफल भयो। कतारका जसिम गाबरले गोल गर्दै बराबरी गरे।

४३ औं मिनेटमा अकरम अफिफले गोल गरेपछि कतारले पहिलो हाफका २–१ को अग्रता बनायो। तर, ५१ औं मिनेटमा इरानले अलिरेजाले पेनाल्टीमार्फत गोल गर्दै २–२ को बराबरीमा ल्याएका थिए।

८२ औं मिनेटमा कतारका अलमोएज अलीले गोल गरेपछि ३–२ को अग्रता लिन सफल भयो। दोस्रो हाफको अतरिक्त तेस्रो मिनेटमा इरानका सोजेब रातो कार्ड पाउँदै मैदान छाडे। अन्तिम केही समय १० खेलाडीमा समेटिएको थियो।

एएफसी एशियन कपको उपाधिका लागि कतारले जोर्डनसँग खेल्ने छ। जोर्डन दक्षिणा कोरियालाई पराजित गर्दै फाइनलमा पुगेको हो। फाइनल खेल शनिबार हुने छ।