काठमाडौं । चलचित्र निर्देशक संगीता श्रेष्ठको निर्देशनमा निर्मित ‘चल्ने हावालाई’ गीतमाथिको म्युजीकल फिल्मको शनिबार पहिलो प्रदर्शन गरिएको छ।
समाजमा महिलाप्रतिको दृष्टिकोण र सशक्तीकरणका विषय समेटिएको म्युजिकल फिल्म शनिबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्दै रिलिज गरिएको हो। शिव चम्लागाईंको शब्द-संगीत रहेको गीत सरु पराजुलीले गाएकी हुन्।
१२ मिनेट अवधिको म्युजिकल फिल्ममा कलाकारहरु संचिता लुइटेल, बेनिशा हमाल, गजित विष्ट, सोनिका बास्तोला, थमन सिंह पुर्जा, किस केसी र बालकलाकार समृद्धि श्रेष्ठले अभिनय गरेका छन्।
गीत रिलिज कार्यक्रममा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर, नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति थियो।
म्युजिकल फिल्म हेरेपछि उपसभामुख रानामगरले गन्तव्यसम्म पुग्न एक चेलीले भरेको मिहिनेतको उडान देखाइएको बताइन्। साथीभाई पढ्न जाँदै गर्दा आफू गोठालो जाने गरेको बिगत उनले स्मरण गरिन्।
उनले भनिन् ‘साथीभाइहरु कापीकिताब बोकेर विद्यालय जाँदै गरेको देख्दा म गोठालो जान्थेँ। मैले पनि स्कुल जाने सपना देख्थेँ । त्यो सपनाको उडान भर्नका लागि सिन्काहरुले कोरेर क, ख, ग लेख्न थालेको हो।’
आफ्नो जीवनका संघर्ष सुनाउँदै भावुक भएकी उनले सपना देख्न छाड्न नहुनेमा जोड दिइन। जस्तोसुकै परिस्थितिमा पनि परिवर्तन चाहने मान्छेले मिहिनेत गर्न छाड्न नहुने उनले बताइन्।
प्रतिक्रिया