गठबन्धनलाई जवाफ २०८४ मा : केपी ओली

गठबन्धनलाई जवाफ २०८४ मा : केपी ओली


काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतीक्षा रहेको बताएका छन्।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने उनले बताए।

उनले भने, ‘गठबन्धन, माकुराका कतिवटा ८ वटा खुट्टा हुन्छन्, यिनीहरुका पनि त्यस्तै छन् । हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याक्यौँ भने यो जोडजाम गरेर बनाएको गठबन्धन कुनै ठूलो कुरै होइन। एउटा चुनाव सधैंका लागि यस्ता गठबन्धनका संस्कृति, कुसंस्कृतिहरु अन्त्य गर्नका लागि काफी छ। त्यसैले हामीले भनेका छौ मिसन ८४, यसले यो सबै समस्याको एकैपटक दबाई गर्छ । गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन ८४ मा गरिँदै छ।’

उनले अर्थतन्त्रको वर्तमान अवस्थाबारे टिप्पणी गर्दै रेमिट्यान्स माथिको निर्भरता उचित नभएको भनाइ राखे। रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धरासय अरु केही नभएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभइ रेमिट्यान्सतर्फ अगाडि बढेको बताए।

उनले भने, ‘देशको समस्या भनेको युवाहरु बाहिरिने क्रम बढ्दै गएको छ। अहिलेको गठबन्धन सरकार रेमिट्यान्स आइरहेको छ भनेर खुसी भइरहेका छन्, तर रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशय अरु केही पनि हुँदैन। संयुक्त राष्ट्र संघले दिगो विकासको लक्ष्य तोकेको छ, हामी सबैभन्दा अभरपर्दो रेमिट्यान्स अर्थतन्त्रतर्फ जाँदै छौँ। दिगो विकासको लक्ष्य होइन्, आफ्नो उत्पादन बढाएर सुदृढ हुने होइन, रेमिट्यान्सतर्फ जाँदै छौँ।’

नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने ठाउँमा शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको आरोप पनि उनले लगाए।

उनले भने, ‘हाम्रा शासनमा हुनेहरु खासगरि गठबन्धनमा हुनेहरुको नीति नै गलत छ। नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने यहाँ शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको छ। आज शिक्षाको लागि बाहिर जानपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ। समस्याहरु छ तर समाधान पनि छन्। कुनै पनि देश अरु आएर बनाउँदैन, आफैंले बनाउनु पर्छ।’