काठमाडौं ।
अमेरिका र वेस्टइन्डिजमा हुन आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ। टिकट बिक्री ७ फेब्रुअरीसम्म जारी रहने आइसीसीले जनाएको छ। टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुने छ।
विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन्। लिगचरणदेखि फाइनलसम्म ५५ वटा खेल हुने छन्। आइसीसीले निकालेको खेल तालिका अनुसार नेपाल समूह डीमा रहेको छ। यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।
यसैगरी, समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड रहँदा समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन्।
हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन्। ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन्। सुपर–८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर–२ को २ समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन्।
कार्तिकमा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो। नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।
आइसीसीले अनलाइन टिकट खरिद गर्दा एउटा आइडीबाट बढीमा ६ वटामात्रै किन्न पाइने नियम पनि बनाएको छ। यसैगरी प्रत्येक खेलको टिकट मूल्य पनि फरक फरक रहेको छ। विश्वकपको सबैभन्दा सस्तो टिकट ६ डलरको र महँगो २५ डलरको रहेको छ।
यसरी किन्न सकिन्छ टिकट?
टिकट किन्नका लागि टी २० विश्वकपको आधिकारिक वेबसाइटमा गएर रजिस्टर्ड हुनुपर्छ। प्रक्रिया सफल भएमा आवेदकले इ–मेलमार्फत टिकट सुरक्षित रहेको जानकारी प्राप्त गर्नेछन्। यस मार्फत खरिदकर्ताहरुले कुन खेलको टिकट सुरक्षित गरेका छन् भन्ने जानकारी दिइनेछ। त्यसपछि उनीहरूलाई एउटा लिंक उपलब्ध गराइनेछ जसमार्फत भुक्तानी गर्नुपर्नेछ। यदि तोकिएको समय भित्र भुक्तान नगरेमा टिकटहरू खुला बिक्रीको लागि पूलमा फिर्ता गरिने आइसीसीले जनाएको छ।
प्रतिक्रिया