आर्मी पीएमकपको फाइनलमा, उपाधि भिडन्त पुलिससँग

आर्मी पीएमकपको फाइनलमा, उपाधि भिडन्त पुलिससँग


काठमाडौं ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधिका लागि दुई विभागीय क्लब भिड्ने भएका छन् ।राउन्ड रोविन लिग अनुसार शीर्ष २ स्थानमा रहने टिमले उपाधि भिडन्त गर्न लागेको हुन्।

समूह चरणमा अपराजित रहेको पुलिस शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा आर्मी दोस्रो स्थानमा रहेर उपाधि भिडन्त गर्न लागेको हो। फाइनल खेल शनिबार हुनेछ।

प्रतियोगिता अन्तर्गत विहीबार भएको खेलमा त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई ६८ रनले स्तब्ध बनायो। आर्मीले जम्मा १३२ रन बनाएको थियो। जवाफमा गण्डकी प्रदेश ६४ रनमा समेटियो। पहिला ब्याटिङ गर्दा आर्मीका इमरान शेखले सर्वाधिक ३४ रन बनाउँदा सोमपाल कामीले २३ रन जोडे।

यसैगरी कप्तान विनोद भण्डारीले १९ रन जोड्दा कुशल मल्ल १५ रनमा आउट भए। सहाव आलम १२ रनमा नटआउट रहँदा भीम सार्कीले १० रन जोडे ।गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल, कमल परियार सवैले दुई दुई विकेट लिँदा सन्दीप रजाली र रोशन गौतमले एक एक विकेट हात पारे।

जवाफी लक्ष्य पछ्याएको गण्डकी प्रदेश २३.४ ओभरमा सवै विकेट गुमाएर ६४ रनमा समेटियो। गण्डकीका लागि इश्वर क्षत्रीले १६ तथा करण पंगेनीले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन असफल रहे। आर्मीका सहाव आलमले सर्वाधिक ४ विकेट लिँदा कुशल मल्ल र जितेन्द्र मुखियाले दुई दुई विकेट हात पारे।