नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्यो

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आवेदन खुल्यो


काठमाडौं ।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौं संस्करण आगामी २०२४ जुन २० देखि २३ सम्म हुने भएको छ। अमेरिकाको मेरील्याण्ड राज्य तथा वासिङ्टन डिसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरीबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ। चलचित्र महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरू प्रदर्शन गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र चलचित्रहरू यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन्।

अमेरिकाका वासिङ्गटन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्मकर्मीलाई प्रोत्साहन गर्न ’डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरू प्रदर्शन हुनेछन्। स्थापना कालदेखि ’ग्लोबल पिस फिल्म फेस्टिवल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हँुदै आएका चलचित्रहरू यो वर्ष पनि समावेश हुने जनाइएको छ।

महोत्सवका निर्देशक युवाकर राजकर्णिकारका अनुसार अन्तर्राष्ट्रिय चलचित्रकर्मी सम्मिलित समितिले आवेदन परेकामध्येबाट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरूलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल’ छलफल तथा कार्यशाला समेत हुनेछन्। हरेक चलचित्र प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ ।कोभिड महामारीका कारण अघिल्ला दुई महोत्सव भने भर्चुअल गरिएका थिए।