मुम्बई ।
बलिउड निर्देशक विवेक अग्निहोत्रीको फिल्म ‘द भ्याक्सिन वार’ गत सेप्टेम्बर २०२३ मा रिलिज भएको थियो। ‘द कश्मीर फाइल्स’को सफलता पछि निर्देशक अग्निहोत्रीलाई यो फिल्मप्रति धेरै आशा थियो, तर आशा अनुरुप फिल्म बक्सअफिसमा जम्न सकेन। अब यो फिल्मलाई देशको संसदमा देखाइने भएको छ।
विवेकले बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो फिल्म संसदमा देखाइन लागिएको जानकारी दिएका छन्। उनले एक भिडियो क्लिप शेयर गर्दै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘वाह १ बिहान–बिहान त राम्रो खबर छ। म सबै वैज्ञानिकका लागि खुशी छु।’
विवेक यो फिल्मबाट धेरै आशावादी थिए। यद्यपि फिल्म रिलिज हुँदा बक्सअफिसमा अत्यन्तै न्यून व्यापार गर्यो। फिल्मले देशभरमा करिब १० करोडमात्र व्यापार गरेको थियो।
‘द भ्याक्सिन वार’ कोभिड–१९ महामारीका समयमा भारतले आफ्नो भ्याक्सिन बनाएको कथामा आधारित छ। फिल्ममा आईसीएमआर र एआईवीका वैज्ञानिक र डाक्टरहरुले भ्याक्सिन बनाउन गरेको संघर्षलाई देखाइएको छ।
फिल्ममा अनुपम खेर, नाना पाटेकर, राइमा सेन, सप्तमी गौडा र पल्लवी जोशीको अभिनय छ। यो फिल्म हिन्दीसहित अन्य कैयौं भाषामा रिलिज भएको थियो। (दैनिक जागरण)
प्रतिक्रिया