खेलाडी पलायन रोक्न कार्यक्रम ल्याउँछौं : खेलकुद मन्त्री लिम्बु

खेलाडी पलायन रोक्न कार्यक्रम ल्याउँछौं : खेलकुद मन्त्री लिम्बु


काठमाडौं ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रमा बजेटको सिलिङ बढाउने बताएका छन्। उनले आर्थिक वर्ष ०८१–८२ को बजेटमा खेलकुद क्षेत्रलाई माथि लैजान सक्ने गरी निर्माण गर्न आफूहरु गम्भीर भएर लागेको जानकारी दिए।

बुधबार सिंहदरबारमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रममा उनले खेलकुद क्षेत्रको विकास र प्रबर्द्धनका लागि बजेट नै प्राथमिक साधन भएकाले बजेटको सिलिङ बढाउनमै अहिले मन्त्रालय लागेको बताए।

मन्त्री लिम्बुले भने, ‘यो मन्त्रालयको बजेटको सिलिङ् बढाउनुपर्छ भनेर राष्ट्रिय योजना आयोग र सरोकारवाला विभिन्न निकायमा मन्त्रालयको तर्फबाट पहल भइरहेको छ। जबसम्म यसको सिलिङ् बढ्दैन्, हामी थप कार्यक्रमहरु गर्नसक्ने अवस्थामा रहदैँनौ।’

उनले अर्थतन्त्रलाई ध्यानमा राखेर नयाँ बजेट ०८१–८२ को लागि सैद्धान्तिक छलफलहरु गरिरहेको र त्यसमा बजेटको सिलिङ् बढाउने विषय मुख्य प्राथमिकतामा राखेको उल्लेख गरे।

‘खेल क्षेत्रलाई प्रबद्र्धन गर्ने र विगतको जुन पीडा र कठिनाई हामीले अनुभूति गरेका छौं,त्यसबाट नेपालको खेल क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ भन्ने विषयमा हामी गम्भीरतापूर्वक गृहकाय गरिरहेका छौ,’ मन्त्री लिम्बुले भने।

मन्त्री लिम्बुले खेलाडीलाई प्राथमिकतामा राखेर व्यवसाय गर्न चहाने खेलाडीका लागि स्वरोजगार कोषको माध्यमबाट दिँदै आएको सस्तो व्यवसाय कर्जालाई आगामी वर्षबाट दुई लाखबाट बढाएर ५ लाख रुपैयाँसम्म पुर्याउने गरी कार्य गरिरहेको बताए।

नेपालमा रहेका सम्भावना बोकेका क्षेत्रलाई कसरी खेलमा पनि समेट्न सकिन्छ र युवा खेलाडी पलायन भैरहेको अवस्थामा कसरी देशमै बसेर काम गर्न सक्ने परिस्थिति बनाउन सकिन्छ भन्ने पक्षमा सरकार रहेको मन्त्री लिम्बुको धारणा छ।

उनले आफूहरुले खेलाडी पलायनलाई रोक्न देशमै खेलाडीलाई व्यवसायी बनाउन चाहेको पनि बताए। ‘हामी खेलाडीलाई उच्च प्राथमिकतामा राख्छौं’ उनले भने, ‘उनीहरुलाई देशमै उद्यमी बनाउन चाहन्छौं। यो मन्त्रालयले त्यो कार्यक्रम ल्याउने क्रममा छ।’

कार्यक्रममा कबड्डी, टेवल टेनिस, कराते, पारा तेक्वान्दोका खेलाडी तथा प्रशिक्षकलाई पनि सम्मानित गरिएको थियो। सम्मानित हुने खेलाडीमा टेबल टेनिसमा काठमाडौंकी नविता श्रेष्ठ र शुभश्री श्रेष्ठ, भक्तपुरका शिव सुन्दर गोथे छन्। टेवल टेनिसका निर्णायक कन्चनपुरका तेजेन्द्र सिंह महरा पनि सम्मानित भएका छन्।

कबड्डीतर्फ खेलाडी मोरङकी मेनुकाकुमारी राजवंशी र कबड्डीकै प्रशिक्षक पार्वती राई सम्मानित भए। यस्तै, कराँतेमा धादिङकी एरिका गुरुङ,पारा तेक्वान्दोमा पलेशा गोवर्धन,र फुटबलका फिजियोथेरापिष्ट आविस्कार पुडासैनी पनि पुरस्कृत भए।

कार्यक्रममा खेलकुद प्रोत्साहन पत्रकारिता पुरस्कारबाट सातै प्रदेशबाट ८ जनालाई सम्मान गरिएको छ। खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट कोशी प्रदेशको मोरङ जिल्लाबाट हरिप्रसाद कोइराला, मधेश प्रदेशका तिवारी यादव, बागमती प्रदेशबाट गोविन्दराज नेपाल सम्मानित भएका छन्।

यस्तै, गण्डकी प्रदेशबाट रोहितराज पराजुली, लुम्बिनी प्रदेशकारिखिराम जिसी कर्णाली प्रदेशबाट नन्दराम जैशी र सुदुरपश्चिम प्रदेशबाट नवराज पनेरु, महिलातर्फ रजनीकुमारी योगीले पत्रकारिता प्रोत्साहन पुरस्कार पाए। त्यसैगरी, धादिङ सिद्धलेक गाउँपालिका–२ का पत्रकारगोविन्द रेग्मी खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।