अभिनयबाट ब्रेक लिँदै प्रभास

अभिनयबाट ब्रेक लिँदै प्रभास


मुम्बई ।

अभिनेता प्रभासको दक्षिण भारतीय फिल्ममा आफ्नो दबदबा चल्छ। ‘बाहुबली २’को सफलताको ६ वर्षपिछ प्रभासले सन् २०२३ मा ब्लकबस्टर फिल्म ‘सालार पार्ट १’ दर्शकलाई दिए । अब भने दर्शकले उनको फिल्म हेर्न केही समय पर्खनुपर्नेछ। किनकी उनी अब केही समयका लागि अभिनयबाट ब्रेक लिँदैछन्।

प्रभासले ‘सालार’को सफलतापछि केही समयका लागि अभिनयबाट ब्रेक लिने निर्णय लिएका हुन्। अर्को फिल्म ‘कल्की २८९८ एडी’ अघि प्रभासले यो निर्णय किन लिए भन्ने कारण पनि छ। प्रभासले ‘माइण्ड फ्रेस’ र स्वास्थ्यका कारण अभिनयबाट ब्रेक लिएका हुन्।

प्रभास ‘सालार’बाट प्राप्त प्रतिक्रियाबाट खुसी छन्। ६ वर्षपछि प्राप्त सफलताले पनि प्रभासलाई खुसी दिएको हो। उनी आफ्नो करियरमा अझ बढी केन्द्रीत हुन र आन्तरिक शक्ति बढाउन ब्रेक लिन लागेका हुन्। उनी अब नयाँ तरिकाबाट करियरलाई अगाडि बढाउन चाहन्छन्।

त्यसो त प्रभास लामो समय ब्रेक लिने मुडमा छैनन् । उनी केवल एक महिनामात्र अभिनयबाट अलग्गिँदै छन्। उनी मार्चमा आफ्नो आगामी प्रोजेक्टको काम सुरु गर्ने मनस्थितिमा छन्। उनी आफ्नो सर्जरीका लागि युरोप जाने तयारीमा छन्। उनलाई केही समयअघि चोट लागेको थियो, त्यो चोट पूर्ण रुपले ठीक हुन सकेको छैन।

प्रभासको लाइनअपमा ९ मार्च २०२४ मा रिलिज हुने फिल्म ‘कल्की २८९८ एडी’ छ। जसमा दीपिका पादुकोण, कमल हासन, अमिताभ बच्चन र दिशा पाटनीको अभिनय छ। यसबाहेक ‘स्पिरिट’ र ‘द राजा साहब’ पनि पाइपलाइनमा छन्।