काठमाडौं ।
पेनाल्टी सूटआउटमा साउदी अरेबियालाई स्तब्ध बनाउँदै दक्षिण कोरिया कतारमा जारी एएफसी एसिया कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको खेलमा निर्धारित र अतिरिक्त समयको खेल एक–एक गोलको बराबरीमा सकिए पछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो। जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो।
दक्षिण कोरिया हार नजिक पुगेको अवस्थामा दोस्रो हाफको अतिरिक्त यमयको अन्तिम मिनेटमा गोल गर्दै खेल लम्बाएको थियो।
४६ औं मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अब्दुल्लाहले गोल गर्दै सनसनी मच्चाए। दोस्रो हाफको अतिरिक्त नवौं मिनेटमा दक्षिण कोरियाका चो गुए संगले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेले। त्यसपछिको ३० मिनेटमा पनि थप गोल ननिस्किएपछि पेनाल्टीको सहारा लिनु परेको थियो।
जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न सफल भयो। दक्षिण कोरियाले सेमिफाइनल प्रवेशका लागि शुक्रबार अस्ट्रेलियासँग खेल्ने छ।
प्रतिक्रिया