प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबको सातौं जित, गण्डकी ६ विकेटले स्तब्ध

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लबको सातौं जित, गण्डकी ६ विकेटले स्तब्ध


काठमाडौं ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ। समूह चरणको सातौं खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भयो।

मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले स्तब्ध बनाएको छ। गण्डकी प्रदेशको भने यो छैटौं हार हो। गण्डकीले पहिला ब्याटिङ गर्दै ३८.३ ओभरमा सवै विकेट गुमाएर १७० रन बनाएको थियो।

गण्डकीका लागि अमृत गुरुङले अर्धशतकीय पारि ५० रनको खेल्दा कमल परियार र करण पँगेनीले ३०–३० तथा समीर कँडेलले २९ रन बनाए। पुलिसका रसिद खानले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र करण केसीले दुई दुई विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

१७१ रनको लक्ष्यसहित मैदान उत्रिएको पुलिसले २४.२ ओभरमा ४ विकेट गुमाएर विजयी भयो। पुलिसको जितमा दिलिप नाथले ५७ रनको अर्धशतकीय पारि खेल्दा अर्जुन साउदले नटआउट ४४ न बनाए। यसैगरी आरिफ शेख पनि नटआउट २७ रनमा फर्किदा, कुशल भुर्तेलको ब्याटबाट २२ रन बन्यो । शंकर राना भने १२ रनमा आउट भएका थिए।

गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिँदा विपिन खत्री र कमल परियारले एक एक विकेट लिए।