निफको जुरी कमिटीमा प्रदीप, दीया र किशोर

निफको जुरी कमिटीमा प्रदीप, दीया र किशोर


काठमाडौं ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री दीया मास्के र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन्।

निफका अध्यक्ष केपी पाठकले प्रदीप खड्का फिचर फिल्मतर्फ, अभिनेत्री दीया मास्के सर्ट तथा डकुमेन्ट्रीतर्फ र किशोर आचार्य डनकिहोटे अवार्डको निर्णायक रहने तय भएको जानकारी गराए। खड्का र मास्के गत सालको संस्करणमा फिचर फिल्म विधाका अभिनेता र अभिनेत्री विधाका विजेता हुन्। दुवैले दर्जन हाराहारी चलचित्रमा अभिनय गरेका छन्। साउन्ड डिजाइनर किशोर आचार्यले अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेको थुप्रै नेपाली चलचित्रमा साउन्ड डिजाइनरको भूमिका निर्वाह गरेका छन्।

आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा आयोजना हुने निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधान अनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो। तत् तत् विधामा दुईजना जुरी विदेशी चलचित्रकर्मी हुनेछन्। विदेशीबाट सहभागी हुने जुरीको नाम केही समयमा नै सार्वजनिक गरिने अध्यक्ष पाठकले जानकारी गराएका छन्।

निफका अध्यक्ष केपी पाठकले अघिल्लो सालका विजेताहरु महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गरिएको र उहाँहरुले स्वीकार गरेसँगै नेपालतर्फका निर्णायकको टुंगो लागेको जानकारी गराए।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा लामा, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन्। प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।