‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’ गायिका मिरा राणालाई

‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड’ गायिका मिरा राणालाई


काठमाडौं ।

विन्ध्यवासिनी फाउण्डेसनले आगामी चैत १ गते आयोजना गर्ने ‘रमपम विन्ध्यवासिनी म्यूजिक अवार्ड २०८०’ मा गायिका मिरा राणालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ प्रदान गर्ने भएको छ।

फाउण्डेसनको शनिबार राजधानीमा सम्पन्न दशौं वार्षिक भेलाले गायिका राणालाई १ लाख रुपैंयाँ राशीसहित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने निर्णय गरेको हो ।भेलाले संगीतकार भूपेन्द्र रायमाझीलाई ‘विन्ध्यवासिनी संगीत साधना सम्मान २०८०’ बाट सम्मानित गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी ५० हजार रुपैंयाँ छ।

त्यस्तै, पत्रकार शान्तिप्रियलाई २५ हजार रुपैंयाँ राशीको ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ प्रदान गर्ने निर्णय गरेको छ।

बैठकले फाउण्डेसनका दिवङ्गत सल्लाहकार तथा गायक र संगीतकार प्रेमध्वज प्रधानको नाममा स्थापित ‘प्रेमध्वज संगीत रत्न सम्मान २०८०’बाट युवा गायक रुपक डोटेललाई सम्मान गर्ने निर्णय गरेको छ । यो सम्मानको राशी नगद २५ हजार रुपैंयाँ छ।

यसैगरी स्वर्गीय झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–संगीत सम्मान २०८०’ लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय गरेको छ। यो सम्मानको राशी २५ हजार रुपैंयाँ छ।

विन्ध्यवासिनी म्यूजिकका कार्यकारी निर्देशक सुवास रेग्मीले स्रष्टा र पत्रकारको योगदानको सम्मान र कदर गर्दै विगतका वर्ष झैं यसवर्ष पनि सम्मानित गर्न लागिएको बताए।