विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल


काठमाडौँ । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ। पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो।

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन्।

नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन्।