इरान, युएई र प्यालेस्टाइन एएफसी कपको अन्तिम १६ मा

इरान, युएई र प्यालेस्टाइन एएफसी कपको अन्तिम १६ मा


माघ १०, काठमाडौं । एएफसी एशिया कप फुटबलमा समूह सीबाट इरान र युएईले अन्तिम १६ मा स्थान पक्का गरेका छन्। समूह चरणको अन्तिम खेलमा इरानसँग युएई पराजित भएपनि युएई दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुग्न सफल भयो। अर्को खेलमा प्यालेस्टाइन हङकङलाई पराजित गर्दै उत्कृष्ट तेस्रो भएर अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो।

मंगलबार राति भएको खेलमा इरानले युएइलाई २–१ गोल अन्तरले पराजित गरेको हो। इरानलाई जीताउन मेहदी तारेमीले दुवै गोल गरे। उनले २६ औं र ६५ औं मिनेटमा सरदार अजमुनको पासमा गोल गरेका थिए।

दोस्रो हाफको अतिरिक्त तेस्रो मिनेटमा याहाया अल घसानीले युएईका लागि गोल गरेपनि हार टार्न भने पर्याप्त भएन। यस्तै, यही समूहमा रहेको प्यालेस्टाइनले हङकङमाथि ३–० गोल अन्तरको जीत दर्ता गरको छ। प्यालेस्टाइनका लागि ओडी डबागले २ गोल गर्दा जइद कुनवरले एक गोल थपेका थिए।

इरान तीन खेलबाट शतप्रतिशत जीत निकाल्दै अन्तिम १६ मा पुग्दा युएई भने एक जित एक बराबरी र एक हारका साथ ४ अंक लिएर दोस्रो स्थानमा रहँदै अन्तिम १६मा प्रवेश गरेको छ।

प्यालेस्टाइनको पनि युएइकै अंक रहे पनि गोल अन्तरमा पछि पर्दा उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६मा पुगेको हो।