५० दिनमा अजय देवगनका पाँच फिल्म हलमा

५० दिनमा अजय देवगनका पाँच फिल्म हलमा


मुम्बई ।

सन् २०२३ मा फिल्म ‘भोला’मा देखिएका अभिनेता अजय देवगन सन् २०२४ मा आफूले अभिनय गरेका ५ फिल्म लिएर दर्शकमाझ आउँदैछन्। यी फिल्म ५० दिन भित्रमा दर्शकमाझ आउन लागेका हुन्।

यी पाँच फिल्ममध्ये सबैभन्दा पहिला ‘शैतान’ रिलिज हुँदैछ। ८ मार्चमा रिलिज हुने यो फिल्ममा आर माधवन र ज्योतिकाको पनि प्रमुख भूमिकामा अभिनय हुँदैछ।

फिल्म ‘शैतान’पछि अर्को फिल्म ‘मैदान’ रिलिज हुनेछ । लामो समयदेखि रिलिजको प्रतिक्षमा रहेको स्पोर्टस् ड्रामा यो फिल्म अप्रिलको दोस्रो हप्तामा ईदको मौकामा रिलिज हुनेछ। ‘बधाई हो’ फेम निर्देशक अमित रविन्दरनाथ शर्मा निर्देशित फिल्म बोनी कपूर, आकाश चावला, अरुणव जोय सेन गुप्ता र जी स्टुडियोले निर्माण गरेको हो। फिल्ममा अजयसँगै प्रियामणि र गजराज रावको अभिनय छ।

‘मैदान’ सन् १९५२ र १९६३ को बीच भारतीय फूटबलको स्वर्ण युगमा आधारित छ। फिल्ममा अजयले एक कुशल भारतीय कोच सैयद अब्दुल रहीमको भूमिका निभाएका छन्।

‘मैदान’ रिलिजको दुई हप्तापछि अर्थात अप्रिल २६ मा ‘औरों में कहाँ दम था’ लिएर दर्शकमाझ आउँदैछन्। निरज पाण्डेको निर्देशन र श्रेयान्स हीरावतको निर्माण रहेको यो फिल्म रोमान्टिक थ्रिलर फ्लेभरमा छ। फिल्ममा जिमी शेरगिल र सई मान्जरेकरको अभिनय छ।

अप्रिलपछि स्वतन्त्रता दिवसमा अजय ‘सिंघम अगेन’मा ‘सिंघम’को लोकप्रिय भूमिकामा देखिनेछन्। रोहित शेट्टीको यो एक्शन इन्टरटेनर फिल्ममा अजय, अक्षयकुमार, रणवीर सिंह, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ र अर्जुन कपूरको अभिनय हुनेछ।

सन् २०२४ मा अजयको अन्तिम रिलिज फिल्म ‘रेड २’ हुनेछ। यो फिल्म यसै महिनाको सुरुवातमा फ्लोरमा गएको छ र १५ नोभेम्बरमा रिलिज हुँदैछ। यो फिल्ममा अजयका साथ वाणी कपूर प्रमुख भूमिकामा छिन्। फिल्ममा रितेश देशमुख खलनायक हुनेछन्। यसको निर्देशन राजकुमार गुप्ताले गरेका छन्।

आजको समयमा मूलधारका एक अभिनेताका लागि एकै वर्षमा ५ भन्दा बढी फिल्म रिलिज हुनु दुर्लभ अवसर हो। अभिनय करियर सुरु गरेको तेस्रो वर्षमा अर्थात् सन् १९९३ मा अजयका ८ फिल्म ‘दिव्यशक्ति’, ‘प्लेटफर्म’, ‘संग्राम’, ‘शक्तिमान’, ‘दिल है बेतन’, ‘एक ही रास्ता’, ‘बेदर्दी’ र ‘धनवान’ रिलिज भएका थिए।

अजयका सन् २००३ मा ‘भूत’, ‘कयामत’, ‘चोरी चोरी’, ‘गंगाजल’, ‘परवाना’, ‘जमीन’ र ‘एलओसी कारगिल’, सन् २००५ मा एकै वर्षमा ८ फिल्म ‘इंसान’, ‘ब्लैकमेल’, ‘जÞमीर– द फायर विदइन’, ‘टैंगो चार्ली’, ‘काल’, ‘मैं ऐसा ही हूं’, ‘अपहरण’ र ‘शिखर’, सन् २०१० मा ६ फिल्म ‘अतिथि तुम कब जाओगे’, ‘राजनीति’, ‘वन्स अपन ए टाइम इन मुम्बई’, ‘आक्रोश’, ‘गोलमाल ३’ र ‘टूनपुर का सुपरहीरो’ रिलिज भए।

फिल्म ‘राजनीति’ र ‘वंन्स अपन ए टाइम इन मुम्बई’ सुपरहिट साबित भयो। ‘गोलमाल ३’ ले सय करोडको कमाई गरेको थियो।