काठमाडौं ।
अफगानिस्तानविरुद्धको तेस्रो टी २० क्रिकेटमा भारतले दोस्रो सुपर ओभरमा खेल जितेको छ। बुधबार राति भएको खेलमा भारतका कप्तान रोहित शर्मा र रिंकु सिंहको उत्कृष्ट इनिङ्सका कारण अफगानिस्तानलाई २१३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो।
यो ठूलो लक्ष्यको जवाफमा अफगानिस्तानको टोली खेल बराबरी गर्न सफल भयो। दुई टोलीबीच सुपर ओभर खेलिएको थियो जुन बराबरीमा टुंगिएको थियो । यसपछि दोस्रो सुपर ओभरमा भारतले १० रनले खेल जित्दै सिरिज पनि क्लीनस्वीप गर्न सफल भयो।
टस जितेर ब्याटिङ गर्न आएको भारतीय टोलीको सुरुवात निकै खराब रह्यो। यशस्वी जैसवालले ४ रन, शिवम दुबेले १ रनमा आउट हुँदा विराट कोहली र सञ्जु सामसनले पहिलो बलमै विकेट गुमाए। भारतले २२ रनमा ४ विकेट गुमाएको थियो। तर, रोहित शर्मा र रिंकु सिंहले १९० रनको बलियो साझेदारी गरे।
रोहित शर्माले ६९ बलमा ११ चौका र ८ छक्का सहित १२१ रनको नटआउट पारि खेल्दा,रिंकु सिंहले ३९ बलमा ६९ रनको उत्कृष्ट इनिङ खेले। उनले २ चौका र ६ छक्का प्रहार गरे।
अफगानिस्तानका लागि फरीद अहमद मलिकले सर्वाधिक ३ विकेट लिए भने अजमातुल्लाह ओमरजाईले १ विकेट लिए। २१३ रनको विशाल लक्ष्य पछ्याएको पाहुना टोलीका ओपनिङ ब्याट्सम्यानले ९३ रनको आक्रामक सुरुवात गरेका थिए। रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ५०–५० रनको उत्कृष्ट पारी खेले। तर अन्तिम ओभरमा गुलबदिन नाइबले २३ बलमा ४ छक्का र ४ चौकाको मद्दतले खेल बराबरीमा टुंग्याए। नाइबले अन्तिम ओभरमा १८ रन बनाएर खेल बराबरीमा ल्याएका थिए।
पहिलो सुपर ओभर
खेल बराबरी भएपछि सुपर ओभरको खेलमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ६ बलमा १६ रन बनाएको थियो। भारतका लागि रोहित शर्मा र यशस्वी जैसवाल ब्याटिङमा आए। रोहित शर्माले २ छक्का प्रहार गरेपछि मैदान बाहिर गए। जैसवालले अन्तिम बलमा ४ रन बनाउन सके र सुपर ओभर पनि बराबरीमा सकियो।
दोस्रो सुपर ओभर
पहिलो सुपर ओभरमा बराबरी भएको थियो। दोस्रो सुपर ओभरमा भारतका तर्फबाट रोहित शर्मा र रिंकु सिंह फेरि ब्याटिङ गर्न मैदानमा आए। रोहितले पहिलो दुई बलमा एक छक्का र एक चौका प्रहार गरे पनि रिंकु र रोहितले ११ रन बनाएर रनआउट भए। १२ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ३ बलमा १ रन बनाएर दुुवै विकेट गुमाएपछि भारतले यो रोमाञ्चक खेल १० रनले जित्यो।
प्रतिक्रिया