काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एफीएफले लगातार दोस्रो जित निकालेको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो।
यसअघि पहिलो खेलमा एपीएफले बागमति प्रदेशलाई ८९ रनले हराएको थियो। प्रतिकुल मौसमका कारण ४७ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको कोसीले ४४।३ आभरमा सबै विकेट गुमाएर १३५ रन बनाएको थियो।
१३६ सामान्य लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। एपीएफलाई जिताउन कप्तान रोहित पौडेलले ५३ बलमा ८० रनको उत्कृष्ट पारि खेले। उनले ३ छक्का र ९ चौका प्रहार गरेका थिए।
यसगरी सुमित महर्जन २० रनमा नटआउट रहँदा सन्दीप जोराले २ रनको नटआउट पारि खेले। प्रज्वल शाही २२ तथा आशिफ शेख ४ रनमा आउट भएका थिए। पुर्ण विकले १ रन बनाए ।कोशी प्रदेशका फिर्दोश अन्सारी, कमल खत्री र समिर कार्कीले एक एक विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गर्दा कोशीको सुरुआत भने राम्रो रहेन। मिनाश थापाले खाता नखोल्दै आउट भएका थिए। त्यसैगरी फिर्दोश अन्सारीले ५५ रनको अर्धशतकीय पारि खेल्दा सोनु अन्सारीले २० रन बनाए। त्यसैगरी कप्तान अंकित सवेदीले १३ तथा सोनु मण्डलले ११ र आशिष भट्टराईले १० रन बनाए।
एपीएफका अभिनाश बोहोरा र कप्तान रोहित पौडेलले तीन तीन विकेट लिँदा अमर रौटेलाले २ विकेट हात पारे। मौसम ढकाल र भुवन कार्कीले एक एक विकेट लिए। आजको खेलमा कप्तान पौडे प्लेयर अफ दी म्याच बने।
प्रतिक्रिया