सौरवको बायोपिकमा आयुष्मान खुराना फाइनल

सौरवको बायोपिकमा आयुष्मान खुराना फाइनल


मुम्बई ।

बलिउडमा हालसम्म महेन्द्रसिंह धोनी, मोहम्मद अजहरुद्दीन र प्रवीण तांबेजस्ता कैयौं पूर्व क्रिकेटरको जीवनलाई बायोपिक फिल्ममार्फत दर्शकले हेरिसकेका छन्। बायोपिकको सूचीमा अब भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरव गांगुली पनि जोडिने भएका छन्।

फिल्म निर्माता तथा निर्देशक लव रन्जनले आफ्नो प्रोडक्सन हाउसमार्फत सौरवको बायोपिक बनाउने तयारी गर्दैछन्। त्यसो त उनले यो फिल्म बनाउने घोषणा धेरै अगाडि गरेका थिए। तर कैयौं कारणले फिल्मको सुटिङ शुरु हुन ढिलाई भइरहेको थियो।

अब भने लवले आफ्नो सह–निर्माता अंकुर गर्गसँग मिलेर यो फिल्मको काम शुरु गर्ने तयारी गरेका छन्। यो फिल्म घोषणा हुनासाथ अभिनेता रणवीर कपूरले सौरवको भूमिका निर्वाह गर्ने चर्चा थियो। तर अब भने यो भूमिकामा अर्का अभिनता आयुष्मान खुराना फाइनल भएका छन्।

फिल्मको निर्देशक विक्रमादित्य मोटवाणीले गर्नेछन्। निर्देशक विक्रमादित्य निर्माताहरुको पहिलो रोजाईमा थिए। तर बीचमा विक्रमादित्य अन्य प्रोजेक्टमा जोडिनु पर्ने भएपछि उनले बायोपिक प्रोजेक्ट छोडेका थिए।

उनले छोडेपछि निर्माताले सुपरस्टार अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तलाई निर्देशनको जिम्मा दिने सोच बनाएका थिए।

यद्यपि विक्रमादित्यले पुनः फिल्म निर्देशनको जिम्मेवारी लिएका छन्। आयुष्मानले हालैमात्र फिल्ममा सहकार्यको सम्झौता गरेका छन्। आयुष्मानलाई यो फिल्ममा अनुबन्ध गर्नुको कारण यो हो कि उनी पनि सौरव गांगुली जस्तै बायाँ हाते ब्याट्समेन हुन्।

निर्माताहरुले यो वर्षको दोस्रो ६ महिनामा सुटिङ गर्ने योजना बनाएका छन्। यसअघि आयुष्मानले क्रिकेट खेल्न र सौरवको शैली सिक्नका लागि तालिम लिनेछन्।