काठमाडौं ।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विभागीय क्लब नेपाल पुलिसले विजयी सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले वाग्मती प्रदेशलाई ६८ रनले पराजित गरेको हो।
पुलिसले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर २८२ रन बनाएको थियो। जवाफमा वाग्मतीको टोली ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा समेटियो।
पुलिसका लागि सातौं नम्बरमा आएका राशिद खानले नटआउट शतकीय पारि खेल्दै बलियो योगफल तयार पार्न सहयोग गरे। उनले १०६ रनको पारि खेल्दा आरिफ शेखले ५६ रनको अर्धशतकीय पारि खेले।
राशिद प्रधानमन्त्री कपको यो सिजन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् भने सातौं नम्बरमा आएर शतक बनाउने घरेलु प्रतियोगिताको पनि पहिलो खेलाडी बने। पुलिसका सुनील धमला र अमृत श्रेष्ठले समान २०–२० रन बनाए।
यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले २१ रन बनाउँदा दिलीप नाथले १३ तथा करण केसीले १५ रनको योगदान गरे। वाग्मतीका रिजन ढकाल र सूर्य तामाङले तीन–तीन विकेट लिँदा गौतम केसी र सोनु देवकोटाले एक–एक विकेट लिए।
२८३ रनको लक्ष्यसहित मैदान उत्रिएको वाग्मती प्रदेश ४२.३ ओभरमा सबै विकेट गुमाएर २१४ रनमा रोकिन पुग्यो। वाग्मतीका लागि आशुतोष गररियाले ९२ रनको पारि खेल्दा इशान पाण्डेले ४४ रनको योगदान गरे।
पहिलो विकेटका लागि यी दुई खेलाडीले ९६ रनको बलियो साझेदारी गरे पनि त्यसपछि लगातार विकेट पत्तन हुँदा लक्ष्य पूरा गर्न असफल भयो।
सोनु देवकोटाले १९ तथा विपिन आचार्यले १७ रन बनाउँदा गौतम जीसीले १३ रनको योगदान गरे। प्रतीक श्रेष्ठले १० रन बनाउँदा कप्तान ऋत गौतम ९ रनमा आउट भएका थिए।
पुलिसका सागर ढकालले ३ विकेट लिँदा करण केसी, रासिद खान, दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए भने ललित राजवंशीको नाउँमा एक विकेट रह्यो।
प्रतिक्रिया