मिसेस वर्ल्डमा नेपालकी पृथ्वीया, शनिबार अमेरिका उड्दै

मिसेस वर्ल्डमा नेपालकी पृथ्वीया, शनिबार अमेरिका उड्दै


काठमाडौं ।

सन् २०२३ की ‘मिसेस वल्र्ड नेपाल’ विजेता पृथ्वीया थापाले अमेरिकाको लसभेगासमा आयोजना हुने ‘मिसेस वल्र्ड २०२४’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। यही जनवरी १४ देखि जनवरी १९ सम्म हुने यो प्रतियोगिताका लागि पृथ्वीया शनिबार बिहान २ बजे अमेरिका उड्दैछिन्।

रिबन इन्टरटेनमेन्टले गत कार्तिक २२ गते काठमाडौंमा आयोजना गरेको ‘मिसेस वल्र्ड नेपाल २०२३’को उपाधि विजेता हुन्। इन्टरटेनमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पृथ्वीयाको बिदाई गरेको छ।

पृथ्वीयाले यस वर्षको ‘मिसेस वल्र्ड २०२४’को शीर्ष उपाधि नेपालमा नै भित्र्याउने लक्ष्यका साथ आफूले तयारी गरेको बताइन्। ‘प्रतियोगिताका लागि मैले भरपुर तयारी गरेकी छु। त्यहाँ नेपालको भेषभुषा, संस्कृति र नेपाली नारीको पहिचान झल्काउने छु’, पृथ्वीयाले भनिन् । उनले आफूले नेपाली महिलाको आत्मविश्वास र स्वभावलाई प्रतियोगितामा प्रस्तुत गर्ने बताइन्।

पृथ्वीयाले विश्वका ४० सुन्दरीको सहभागिता रहने प्रतियोगितामा ‘नेसनल कष्ट्युम राउण्ड’मा पूर्वी नेपालको किराँत समुदायको संस्कृति झल्काउने ढाकाको पहिरन र गरगहना लगाउने बताइन्। ‘म नेपालको हस्तकलाको सामाग्री लैजाँदैछु। काठको आकर्षक डिजाइनभित्र सजाइएको सगरमाथा अंकित तस्वीरलाई त्यहाँ प्रदर्शन गर्नेछु’, उनले भनिन्। पृथ्वीयाको पहिरन फेसन डिजाइनर बनिषा शर्माले तयार पारेकी छन्।

‘मिसेस वल्र्ड नेपाल’का नेपाल निर्देशक अश्विनीकान्त झाले नेपालले दोस्रोपटक ‘मिसेस वल्र्ड’मा सहभागिता जनाउन लागेको बताउँदै राम्रो उपलब्धि लिएर पृथ्वीया नेपाल फर्कनेमा आफू ढुक्क रहेको दाबी गरे। रिबन इन्टरटेनमेन्टका सिइओ निशुकान्त झाले प्रतियोगितामा भोटिङको उत्तिकै महत्व रहेकाले सामाजिक सञ्जालमार्फत पृथ्वीयालाई भोटिङमा सहयोग गरेको बताए।