बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद, तीन लाख जरिवाना

बलात्कार मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैद, तीन लाख जरिवाना


काठमाडौँ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उनलाई सजाय तोकेको हो। यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

अदालतको फैसलाअनुसार लामिछानेले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति पनि दिनुपर्ने छ। जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए। फैसला सुनाउन अदालतले पत्रकार सम्मेलन नै गरेको थियो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्र प्रसाद पन्थीले अदालतको निणर्य सुनाउँदै भने, ‘‘परिवर्तित नाम ‘गौशाला–२६’ ६ (१) ०८९– ०८० को उमेर ,प्रतिवादी सन्दीप लामिछानेको उेमेर,घटना हुँदाको अवस्था, प्रतिवादीको, सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दा प्रतिवादी सन्दीप लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) ङ बमोजिम आठ वर्ष कैद दफा २१९ (३) क (ग) बमोजिम रु तीन लाख जरिवाना हुने तथा पीडितलाई पुग्न गएको मानसिक असर समेतलाई विचार गरी दफा २२८ बमोजीम प्रतिवादीलाई भएको जरिवाना रु तीन लाख र थप दुई लाख रकम क्षतिपूर्तिबापत प्रतिवादी सन्दीप लामिछानेबाट पीडित ‘गौशाला–२६’ ६ (१) ०८९– ०८० लाई भराइ दिने ठहर छ।’’

लामिछानेले दफा १३७ अनुसार पुनरावेदन गर्न सक्नेछ। फैसला उपर उनले सरकार, प्रतिवादीविरुद्ध उच्च अदालत अदालत पाटनमा जान सक्ने हक सुरक्षीत रहेको पन्थीले बताए।