दक्षिण अफ्रिका भर्सेस भारत टेस्ट क्रिकेट : एकै दिन २० विकेट पतन

दक्षिण अफ्रिका भर्सेस भारत टेस्ट क्रिकेट : एकै दिन २० विकेट पतन


काठमाडौं । केपटाउनमा जारी दक्षिण अफ्रिका र भारतबीचको दोस्रो तथा अन्तिम टेस्टमा पहिलो दिनमै दुवै टिम अलआउट भएका छन्।

घरेलु टोली दक्षिण अफ्रिकालाई ५५ रनमा समेटेर पहिलो पारि सुरु गरेको भारत पनि १५३ रनमा अलआउट भयो। पहिलो पारिमा भारतले ९८ रनको अग्रता मात्रै बनाउन सक्यो। पहिलो टेस्ट गुमाएको भारतले यो टेस्ट जित्दै सिरिज बराबरी गर्ने मौका रहे पनि उसको पहिलो पारि भने खास उपलव्धिमुलक रहेन।

एक दिनमा ९० ओभरको खेल हुनुपर्नेमा पहिलो दिनमै दक्षिण अफ्रिका २३.२ ओभर खेलेर अल आउट हुँदा भारतले भने ३४.५ ओभरमा १५३ रन बनायो।

अझैं पहिलो दिनको खेल सकिन कम्तिमा ३० ओभर बढीको खेल बाँकी रहेको छ। भारतका लागि पहिलो पारिमा विराट कोहलीले सर्वाधिक ४६ रन बनाउँदा कप्तान रोहित शर्माले ३९ रन बनाए। यसैगरी शुभमन गिलले ३६ रन जोड्दा केएल राहुलले ८ रन बनाए।

अरु कुनै पनि खेलाडीले खाता खोल्न सकेनन् । यशश्वी जयसवाल, श्रीयस अय्यर, रविन्द्र जडेजा, जसप्रित बुमराह, मोहमद सिराज, प्रसिद्ध कृष्ण र मुकेश कुमारले खाता नै खोल्न सकेनन्। दक्षिण अफ्रिकाका कागिसो राबडा, लुंगी एनगिडी र नन्देर ब्रुगरले तीन तीन विकेट लिए। एक खेलाडी भने रनआउट भएका थिए।

दक्षिण अफ्रिकाको पहिलो पारिमा के भयो त ?
दक्षिण अफ्रिकाका कप्तान डीन एल्गरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका थिए। तर, यो निर्णय दक्षिण अफ्रिकाका लागि महँगो साबित भयो।

घरेलु टोलीले ४६ रनमा ८ विकेट गुमाएको थियो। मोहम्मद सिराजले ९ ओभरमा ६ विकेट लिए। कप्तान रोहित शर्माले इनिङ्सको दोस्रो ओभरमा सिराजलाई बल दिएका थिए।

जसमा उनले १ रन मात्र दिए। त्यसपछि उनले अर्को ओभरमा २ रन बनाएका एडन मार्करामलाई यशस्वी जैसवालको हातबाट क्याचआउट गराए। आफ्नो तेस्रो ओभरमा सिराजले ४ रन बनाएका कप्तान डिएन एल्गरलाई बोल्ड गर्दै दोस्रो विकेट लिए।

त्यतिबेला दक्षिण अफ्रिकाले २ विकेट गुमाएर ९ रनमात्रै स्कोरबोर्डमा बनाएको थियो। बुमराहले इनिङ्सको ९औं ओभरको तेस्रो बलमा ३ रन बनाएका ट्रिस्टन स्टब्स आउट गर्दै व्यक्तिगत पहिलो विकेट लिए।

१० औं ओभरमा सिराजले २ रन बनाएका टोनी डी जोरजीलाई आउट गर्दा भारतले चौथो सफलता हासिल गरेको थियो।

१६ औं तथा व्यक्तिगत आठौं ओभरमा सिराजले २ विकेट लिए। उनले दोस्रो बलमा १२ रन बनाएका डेभिड बेडिङह्यामलाई आउट गरेका थिए भने पाँचौं बलमा मार्का यान्सेनलाई खाता नै खोल्न नदिएर पभेलियन पठाए।

व्यक्तिगत नवौं ओभरमा सिराजले १५ रन बनाएका काइल वारेनलाई शुभमन गिलको हातबाट क्याच आउट गराएपछि दक्षिण अफ्रिकाको स्कोर १८ ओभरपछि ७ विकेट गुमाएर ४५ रन बनेको थियो।

त्यसपछि मुकेश कुमारले आफ्नो पहिलो तथा टिमको २०औं ओभरमा ३ रन बनाएका केशव महाराजलाई आउट गरेपछि दक्षिण अफ्रिकाको स्कोर ८ विकेटमा ४६ रन बनेको थियो।

बुमराहको बलमा ४ रन बनाएका नान्द्रे बर्गर क्याच आउट भएपछि ५५/९ को अवस्था पुगेको थियो। त्यसपछि मुकेश कुमारले आफ्नो तेस्रो (२४ औं) ओभरमा ५ रन बनाएर खेलिरहेका कागिसो रबाडालाई श्रेयस अय्यरको हातबाट आउट गराएपछि दक्षिण अफ्रिका ५५ रनमा समेटिन पुग्यो । दक्षिण अफ्रिकाका लागि काइल वारेन र डेभिड वेडिङहम क्रमश १५-१५ रन बनाएर दोहोरो अंक छोएका थिए।