नेपाल सुपर लिगको उपाधि ललितपुरले जित्यो, धनगढी एफसी दोस्रो पटक पराजित

नेपाल सुपर लिगको उपाधि ललितपुरले जित्यो, धनगढी एफसी दोस्रो पटक पराजित


काठमाडौँ ।

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।

त्रिपुरेवरस्थित दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधिमाथि कब्जा जमाएको हो। यस उपाधिसँगै ललितपुरले रु ७० लाख प्राप्त गरेको छ। पहिलो संस्करणमा उपविजेता बनेको धनगढी यसपटक पनि दोस्रो स्थानमा रह्यो। उपविजेता बनेको धनगढीले २० लाख पायो। अघिल्लो सिजनमा पनि धनगढी एफसी उपविजेतामा चित्त बुझाएको थियो।

ललितपुरको जितमा इमोह इजेकेलले दुई गोल गरे भने दिनेश हेन्जनले एक गोल गरे। यता धनगढीका लागि ओलावाले अफिज र अहमद हिजाजी एक गोल गरे।

खेलमा ३७औँ मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गर्दै पहिलो अग्रता लिए। खेलको पहिलो हाफको अत्तिरिक्त समयमा ललितपुरका इमोह इजेकेलले एक गोल फर्काउँदै खेललाई एकरएक गोलको बराबरीमा ल्याए।

त्यसपछि खेलको ५०औँ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै ललितपुरलाई दोस्रो अग्रता दिलाए। खेलको ५८ औँ मिनेटमा इमोह इजेकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ अग्रता बनाउँदै टिमलाई जिततर्फ अगाडि बढाए।

खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा धनगढीका अहमद हिजाजीले एक गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भयो।