नेप्लीज एशोसिएसन अफ भिक्टोरियाभित्रको लफडा, के भन्छन् उपाध्यक्षहरु ? 

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाभित्रको लफडा, के भन्छन् उपाध्यक्षहरु ? 

तत्कालै टेबलमा बस्न संस्थापक अध्यक्ष डा. अधिकारीको सुझाव


नेप्लीज एशोसिएसन अफ भिक्टोरिया अर्थात् न्याभभित्र यतिबेला राजीनामा र असन्तुष्तिको लहर देखिन्छ । आगामी जनवरीको दोश्रो साताबाट आफ्नो सिग्नेचर ईभेन्ट अर्थात् न्याभ कप क्रिकेट आयोजना गर्न लागेको संस्थामा भने पदाधिकारीहरु एकै ठाउँमा उभिनसक्ने सम्म स्थिति देखिँदैन । यसैबीच, आईतबार संस्थाले वार्षिक साधारणसभा गर्दैछ । 

अब लागौं मुख्य प्रसंगमा, हामीले यसअघिको रिपोर्टमा भित्रको विवाद, त्यसमा सचिव माधव खरेलको राजीनामा र अध्यक्ष प्रेम उप्रेतिमाथिको आरोपहरुको लिष्ट प्रकाशित गरिसकेका छौं । खासमा भिक्टोरियामा नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरियालाई यहाँका सरकारी निकायहरुले पनि निकै ईज्जतका साथ हेर्छन् । यति मात्र होइन यसमा विगतमा अध्यक्ष भएकाहरु समाजका प्रबुद्ध र अगुवाका रुपमा स्थापित व्यक्तित्वहरु छन् । तर, केही कार्यकालदेखि भने यहाँ विवाद र अर्कैखाले गुटबन्दी देखिँदैछ । जसले संस्थाको शाख गिराउने काम गरिरहेको मान्ने धेरै छन् । तर, कोही बोल्दैन । 

वर्तमान विवाद पनि बाहिर आउने थिएन यदि यसमा संलग्न भएको एक पक्ष युवा हुँदैनथ्यो भने । अष्ट्रेलियाको काम गर्ने संस्कृति बुझेका युवाहरुले नेपालीपाराको काम गराई अनि विवादमा घुसेर खेल्ने, आफ्नो रोटी सेक्ने प्रवृत्तिलाई ईन्कार गरिदिएपछि यो अवस्था आएको हो भन्दा फरक पर्दैन । हामीले यो विषयमा पदाधिकारीहरु आफैंचाहीँ के गर्दैछन् भन्ने बुझ्नका लागि दुई उपाध्यक्षहरु ललिसा थापा र कृष्ण चालिसेसँग सम्पर्क गरेका थियौं । 

आफ्नै कार्यव्यवस्ततामा रहेका उनीहरुले समय निकालेरै हाम्रा जिज्ञासाको जवाफ दिएका छन् । सुरु गरौं ललिसा थापाबाट –

न्याभको यो कार्यकाल सुरु हुँदा हाम्रो एउटा मात्र गोल थियो न्याभको प्रतिष्ठा बढाउने र आम समूदायको हितमा काम गर्ने । तर, यहाँसम्म आइपुग्दा संस्थाको विवाद छताछुल्ल भएको छ । यो विषय घरभित्रै मिलाउन पाए हुन्थ्यो भन्ने थियो । कार्यसमितिकै टेबलमा बसेर यसमा भएका विवादको विषय मिलाउनुपर्छ भन्ने मेरो सुरुदेखिकै धारणा हो ।  

मेरो विचारमा चाहीँ, यो विवादलाई टेबल टकबाट, आपसी सम्मान र सहकार्यको माध्यमबाट यसलाई समाधान गर्नुपर्छ । जे भइरहेको छ यो एकदमै अफसोचपूर्ण छ । न्याभको अहिलेको टिमले एकदमै राम्रो गरेको हो । अध्यक्षलाई सबैले सहयोग नै गरेका हुन् । जतिबेला अध्यक्ष बिरामी हुनुहुन्थ्यो त्यतिबेला मैले नै आफैं फन्डरेज गरेर पनि उनलाई सपोर्ट गरेको थिएँ । माधव, दीप र म हामी मात्रै थियौं त्यतिबेला धेरै नै खटेका हौं जस्तो लाग्छ । व्यक्तिगत रुपमा हामी भेट्न पनि गएका थियौं । 

त्यस बाहेक पनि हरेक पटक जब अन्य साथीहरुले भ्याएनन् या काम गर्न सकेनन त्यतिबेला हामीले बिरामी हुँदाहुँदै पनि कार्यक्रमलाई सफल बनाउन धेरै नै काम गरेको हो । तर, यस्तो विषय अध्यक्षले देख्नु नै भएन । टिमलाई एकताबद्ध बनाउन पनि मैले धेरै काम गरेको हो । 

यो सबै समस्याको मूल जड भनेकै वर्तमान अध्यक्षको ईगो हो जस्तो लाग्छ । हामीलाई नेतृत्वको हिसाबले या अध्यक्षको हिसाबले गाईड गर्ने काम नै गर्नुहुन्न । प्रेसिडेन्टले जतिबेला पनि समस्या आयो भने त्यसलाई समाधान गर्न सहकार्य गर्नभन्दा त्यहाँबाट भाग्ने काम गर्नुहुन्छ । उहाँले कहिल्यै पनि अरुलाई सुन्नुहुन्न । उहाँलाई मनपर्ने, प्रशंसाको बाहेक अरु कुरा सुन्नै चाहनुहुन्न । 

हामीले धेरै प्रयास गरेको हो । उहाँलाई कसैले न्याभको हितको कुरा गर्यो भने, उहाँले भनेको बाहेक अरु कुरा सबै गलत हो भन्ने खालको अडान आउँछ । यसरी चल्छ त सामूदायिक संस्था ? 

अध्यक्षको कुरामा केही सकारात्मक नै आलोचना भयो भने पनि त्यसलाई टार्गेट गर्ने काम भएको छ । जसले गर्दा नकारात्मकता बढेको छ । उपाध्यक्षका रुपमा मलाई लाग्छ मेरो पनि दायित्व हो जस्तो लाग्छ । यदि एकअर्कालाई सम्मानका साथ हामीले पहल गर्ने हो भने यो विवाद समाधान गर्न सक्छु जस्तो लाग्छ । यसमा हामीलाई समूदायको, मिडियाहरुको अझ भनौं सबै न्याभका सदस्यहरुको सहयोग चाहिएको छ । अध्यक्षलाई मनाउन निकै गाह्रो छ । ईगो छ धेरै, कुरा नसुन्ने बानी छ । तर, यति भन्दैमा यो समस्या टेबलमा बसेर नै समाधान गर्न सकिन्छ त्यसतर्फ लाग्नु नै संस्था र समूदायको हित हुनसक्छ । 

अधिवेशन हुँदैछ हैन ?

३१ डिसेम्बरमा हुने अधिवेशनमा के गर्ने हो ? के हुने हो हामीलाई केही जानकारी छैन । मैले न्याभको ग्रुपमा सोधेको हो । कसैले केही पनि जवाफ दिँदैन । मैले प्रश्न उठाएको हो कि पब्लिक होलिडेको बेलामा कसैले पनि एजीएम गर्दैन । न्याभ कपको बारेमा पनि हामीलाई धेरै थाहा नै छैन । प्रेसिडेन्ट आफैंले यसको नेतृत्व लिनुभएको छ क्यारे । म त्यस कमिटीमा नभएकोले मलाई धेरै कुरा थाहा भएन । 

सचिव बैठक नै नबोलाउने : उपाध्यक्ष कृष्ण चालिसे

नेप्लीज एशोसिएन अफ भिक्टोरियाका दुई उपाध्यक्ष मध्येका एक कृष्ण चालिसेसँग हामीले सोध्यौं के हो यो संस्थाको विवाद ? होलिडेबाट फर्कदैगरेका चालिसेले सुरुमै होलिडेमा भएका कारण म्यासेजको रिप्लाई गर्न ढिला भएको जानकारी दिए भने यस विषयमा आफुले बुझेसम्म जानकारी दिने बताए । हामीले सोध्यौं के हो यो विवादको कारण ? उनको भनाई –

“नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका सचिवलाई अध्यक्षले नोमिनेट गर्ने चलन छ । त्यसै अनुसार भएको हो । तर, सचिवले अध्यक्षले भने अनुसार मिटिंग नबोलाउने, बोलाएको मिटिंगमा नआउने भयो भने त समस्या आइहाल्छ नि । उहाँले दुई तीनवटा मिटिंग एटेन्ड गर्नुभएन । सचिवको कार्यशैलीकै विषयमा गरिएको मिटिंगमा भने मेरो यही भनाईलाई राजीनामा मान्नुस् भनेपछि अहिले आलोकले काम गरिरहनुभएको छ ।  

म सबै मिटिंगमा छु उहाँले लगाएको आरोपजस्तो ‘बुली’ भएको मलाई थाहा छैन । अब फोनमा अध्यक्ष र सचिवकाबीचमा के कुरा हुन्छन् ? त्यो त हामीले थाहा पाउने कुरा भएन । तर, मिटिंगमा त्यस्तो बुली भएको छैन । मलाई जानकारी भएअनुसार प्राईभेट ईमेलबाट अरु संस्थाहरुसँग कम्युनिकेट गरेको, न्याभको ईमेल युज नगरेको लगायत गलत काम भेटिएपछि त्यसको विषयमा छलफल गर्न भनिएको हो ।” 

हामीले सोध्यौं, अब संस्थाको ईमेल चलेन भने त्यस्तो बेला के गर्ने त ? उनले एक दिन मात्र ईमेल नचलेको जानकारी दिए । “हामीले सचिव माधव खरेलको भर्सन सुन्न नै पाएको छैनौं । आफ्नो कुरा राख्न पनि मिटिंगमा त आउनुपर्छ नि । यसमा कसको दोष भनेर त्यसपछि मात्रै थाहा पाइन्छ होला । हाम्रो उपाध्यक्ष ललिसा थापाले एवार्ड पाउनुभएको हो । त्यसको नोमिनेसनको चिठ्ठी पठाउँदा बाहिर बाहिरबाटै भयो कार्यसमितिमा कसैलाई थाहा भएन ।” – उनले थपे ।

अध्यक्षले नै हस्ताक्षर गरेर उपाध्यक्षलाई नोमिनेसन गरेको होइन र ? भन्ने हाम्रो प्रश्नमा कृष्णले भने, “अध्यक्षले नोमिनेसन गरेर एवार्डको लागि पठाएको मलाई थाहा छैन । सभापतिले भन्नुभएको छैन ।” 

उनले थपे – “यो विषय सचिवको राजीनामा आइसकेपछि अब सकियो । ईमेल बाहिर बाहिरैबाट गर्न थालेपछि समस्या आएको हो । हामी आईतबार अधिवेशन गर्दैछौं । त्यहाँ यस विषयमा कुरा हुँदैन । किनकि, एजेन्डा नै आर्थिक छ ।” 

पक्ष विपक्षमा विभाजित बनेको न्याभको यो परिस्थितिलाई सुधार्नका लागि गुहारिएका पूर्वअध्यक्ष र सल्लाहकारहरु पनि अनिर्णित बनेका छन् । उनीहरु हामीलाई केही अधिकार छैन भनिरहेका छन् । तर, यसैसाता भएको पूर्वअध्यक्षहरुको बैठकले यदि कार्यसमितिले चाहेको हो भने आफुहरु मध्यस्थता गर्न सक्ने सन्देश दिएका छन् । यस विषयमा सार्वजनिक रुपमै आह्वान गर्ने तयारीमा पूर्वअध्यक्षहरु पुगेका छन् । यसैबीचमा हामीले सोध्यौं संस्थापक अध्यक्षलाई सम्भावित समाधानको विषयमा 

संस्थापक अध्यक्ष डा. राजु अधिकारी के भन्छन् ?  

यी आन्तरिक असमझदारीहरु हुन् । जेसुकै कारण भएपनि यो खालको परिस्थिति आइसकेपछि यी कार्यसमितिमा सबै जिम्मेवार साथीहरु हुनुहुन्छ । उनीहरुले एक आपसमा बसेर आफ्नो ईगो छोडेर संस्थालाई सही बाटोमा लैजान के गर्ने भनेर छलफल गर्नुपर्छ । उनीहरुको कोर्टमा नै छ बल हामीले त मात्र बाटो देखाउन सक्ने हो । उनीहरुलाई यदि मध्यस्थता चाहिएको हो भने उनीहरुले भन्नुपर्छ । स्वयंसेवी संस्थामा काम गर्दा केही गल्तीहरु हुन्छन् होला तर तिनलाई सच्याउँदै जानुपर्छ । छिटोभन्दा छिटो यो समस्या आन्तरिक छलफलको माध्यमबाट समाधान गर्नु अहिलेको आवश्यकता हो ।