काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनल र वेस्टह्याम युनाइटेड भिड्दै छन्। लण्डन डर्वीको रुपमा रहेको यो खेल नेपाली समयअनुसार राति २ बजे सुरु हुनेछ।
आर्सनल घरेलु मैदान इमिरेट्स स्टेडियममा वेस्टह्यामविरुद्ध स्पष्ट जित निकाल्दै ३ अंक थप्ने लक्ष्यमा रहेको छ । आर्सनल अहिले १८ खेलबाट ४० अंकका साथ दोस्रो स्थानमा रहेको छ।
वेस्टह्याम भने समान खेलबाट ३० अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ। आर्सनल जित निकाल्दै १९ खेलबाट ४२ अंकका साथ शीर्ष स्थानमा रहेको लिभरपुललाई १ अंकले पछि पार्दै पुनः शीर्ष स्थानमा फर्कने लक्ष्यमा रहँदा वेस्टह्याम पनि जित निकाल्दै म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै छैटौं स्थानमा उक्लने प्रयासमा हुने छ।
बराबरीले आर्सनलाई घाटा नै लाग्ने छ भने वेस्टह्यामले तालिका सुधार गर्न पर्याप्त हुने छ । आर्सनलले लिभरपुलविरुद्ध पछिल्लो प्रिमियर लिगको एनफिल्डमा भएको खेलमा एक एक गोलको बराबरी खेलेको थियो।
उता, वेस्टह्यामले भने म्यानचेस्टर युनाइटेडलाई २–० ले हराउँदै स्पष्ट ३ अंक थप्दै तालिकाको सातौं स्थानमा पुगेको थियो। प्रिमियर लिगका पछिल्ला ८ खेलमा अपराजित रहेको आर्सनल आज पनि जित निकाल्ने प्रयासमा हुने छ। आर्सनलले ६ मा जित र २ मा बराबरी खेलेको छ।
सन् २०१९ पछि पहिलो पटक वेस्टह्याम आर्सनलविरुद्ध जित निकाल्ने लक्ष्यमा छ। बकायो साका, एडी नेकेती, काइ हार्वाटेजको प्रदर्शनमा आर्सनल उच्च लयमा छ भने जारोड बोवीनमा भर परेको छ।
प्रतिक्रिया