मेलबर्न अष्ट्रेलिया । नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले करिब दुई दशकदेखि सञ्चालन गर्दै आएको न्याभ कप क्रिकेटको १९ औं संस्करण आगामी आगामी जनवरी १४ बाट सुरु हुने भएको छ। मेलबर्नमा मुख्य कार्यालय रहेको म्याक्सीम्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेजको प्रस्तुतिमा हुने प्रतियोगिता मार्च १० सम्म चल्नेछ। सप्ताहन्तमा खेल सञ्चालन गरिनेछ भने डोनाथ रिजर्व, रिजर्भोयर खेल मैदानमा सबै प्रतिस्पर्धा गरिनेछ।
न्याभ कप क्रिकेट प्रतियोगिताको लोकप्रियता बढ्दै गएकोले नै यस पटकको १७ टिमले सहभागिता जनाउने निश्चित भएको न्याभका अध्यक्ष प्रेम उप्रेतिले जानकारी दिए। गला डिनरको आयोजना गरी प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिने उनले केबीसी खबरलाई जानकारी दिए। टि–ट्वान्टी र लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिनेछ।
१९ औँ न्याभ कपको उपाधिका लागि फार वेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, दी हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स चितवन क्रिकेट क्लब, मेलबोर्न–चितवन राइनोज क्रिकेट क्लब, नार्रे किंग्स गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन माभेन क्रिकेट क्लब मेलबर्नबीच प्रतिस्पर्धा हुनेछ।
यस प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) अष्ट्रेलियास्थित नेपाली दूतावासले प्रर्वद्धन गर्ने र गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरिया, भिक्टोरियन नेपाली क्रिकेट संघ, नेपाल कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलियाले सहकार्य गर्ने जानकारी उप्रेतिले दिए। प्रतियोगिताको आयोजना र सञ्चालनको अवलोकनका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्द स्वयं आउने पनि बुझिएको छ। उनीसँगै नेपालबाट अरु कसले भ्रमण गर्दैछन् भन्ने खुल्न बाँकी छ।
गत वर्षको १८ औ न्याभ कपको उपाधी फारवेस्ट हन्टर्सले जितेको थियो। फाइनल खेलमा नारे किङ्सलाई तीन विकेटले पराजित गर्दै फारवेस्ट हन्टर्सले उपाधि हात पारेको थियो।
प्रतिक्रिया