भारतीय चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्धा दर्ता, श्रीमती कुटेको आरोप

भारतीय चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्धा दर्ता, श्रीमती कुटेको आरोप


नयाँ दिल्ली ।

भारतीय चर्चित मोटिभेसनल स्पिकर विवेक बिन्द्राविरुद्ध मुद्धा दर्ता भएको छ। बिन्द्राविरुद्ध आफ्नी श्रीमतीमाथि कुटपिट गरेको आरोपमा एफआईआर दर्ता गरिएको हो।

उत्तर प्रदेशको नोएडा पुलिसले विवेक बिन्द्राविरुद्ध उनकी पत्नी यानिका बिन्द्रालाई दुर्व्यवहार गरेको आरोपमा एफआईआर दर्ता भएको जनाएको छ। विवेक बिन्द्राले डिसेम्बर ६ मा यानिकासँग विवाह गरेका थिए । विवाहको ८ दिनपछि, डिसेम्बर १४ मा बिन्द्राविरुद्ध नोएडा सेक्टर १२६ पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको भारतीय संचारमाध्यम जनाएका छन्। उनले आफ्नी श्रीमतीलाई कुटपिट गरेको आरोप छ।

बडा बिजनेस प्रालिका सीईओ र संस्थापक बिन्द्रालाई भारतीय दण्ड संहिता (आईपीसी) को विभिन्न धाराहरू अन्तर्गत मुद्दा दायर गरिएको छ। जसमा ३२३, ५०४, ४२७ र ३२५ लगायतका मुद्दा दर्ता गरिएको छ।

नोएडा पुलिसले उक्त घटनाका विषयमा अनुसन्धान गरिरहेको र आरोपको विस्तृत अनुसन्धान गरिने बताएको छ। यानिकाका भाइ वैभवले उजुरी दर्ता गराएका थिए। जसमा बिन्द्राले आफ्नी बहिनीलाई कोठामा थुनेर, दुर्व्यवहार गरेको र उनलाई गम्भीर शारीरिक आक्रमण गरेको आरोप लगाइएको छ। विवेक बिन्द्राको कुटपिटबाट उनको शरीरभरि चोटपटक लागेको इन्डिया टुडेले उल्लेख गरेको छ।

सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको एक भिडियोमा यानिकाले चिकित्सकलाई आफ्नो चोटपटकको निशान देखाएको देख्न सकिन्छ।

ू’कानको चोटका कारण उनी राम्ररी सुन्न पनि असमर्थ छिन्,’ वैभवले भने, यानिका हाल दिल्लीको कैलाश दीपक अस्पतालमा भर्ना छिन् र उनको उपचार भइरहेको छ।