न्याभका सचिव माधव खरेलले सभापति प्रेम उप्रेतिलाई लगाएका आरोपहरु !

न्याभका सचिव माधव खरेलले सभापति प्रेम उप्रेतिलाई लगाएका आरोपहरु !

नेप्लीज एशोसिएन अफ भिक्टोरियाभित्रको विवाद फलोअप - १


मेलबर्न, अष्ट्रेलिया ।

नेप्लीज एशोसिएसन अफ भिक्टोरिया (न्याभ) मा राजीनामा र त्यसपछिको किचलो यथावत नै छ । यसको पहिलो श्रृंखलामा हामीले भिक्टोरियामा बस्ने नेपालीहरुको साझा भनिएको यो संस्थामा यतिबेला के भइरहेको छ भन्ने विषयमा जानकारी दियौं । यो दोश्रो संस्करणमा खासमा यो विवादको पटाक्षेप गर्ने घटना अर्थात् सचिव माधव खरेलले मूल नेतृत्वलाई गम्भीर आरोप लगाउँदै करिब एघार पृष्ठ लामो आफ्नो भनाई सल्लाहकार परिषद् र पूर्वसभापतिहरुलाई पठाएका छन् । केविसीखबरले श्रोतबाट प्राप्त गरेको उक्त पत्रमा उनले हालको अवस्था आउनुको पृष्ठभूमि मात्र खुलाएका छैनन् । १० वटा बुँदागत आरोप पनि लगाएका छन् ।

हामीले यस विषयमा बुझ्नका लागि उनलाई सम्पर्क गरेका थियौं । सचिव खरेलले आफले भन्नुपर्ने सबै विषय पत्रमा खुलाएर संस्थाको आधिकारिक निकायमा दिइसकेको भन्दै यस विषयमा थप कुरा गरेनन् । उनले भने, “यो कुनै व्यक्तिप्रतिको प्रश्न होइन । सामूदायिक संस्थाको सभापतिबाट स्वयंसेवी संस्थाको अर्को पदाधिकारीले काम गर्ने क्रममा पाएको हैरानी र सास्तीको विवरण हो । व्यक्तिगत रुपमा प्रेम उप्रेतिजीसँग मेरो कुनै समस्या छैन ।”

अब लागौं उनले लगाएका आरोपहरुतर्फ


तपाईंले माथि देख्नुभएको स्क्रिनसट सचिव खरेलले लेखेको पत्रको एक अंश हो । जसमा उनले स्पष्टसँग सभापति पदमा बस्नका लागि लायक नभएका कारण संस्थाबाट राजीनामा गर्नुपर्छ भन्ने माग उठाएका छन् । पहिलो बुँदामा नै खरेलले सभापति उप्रेतिले संस्थालाई आफ्नो व्यक्तिगत सम्पत्तिजस्तो ठानेर काम गर्दै आएको भनेका छन् ।
यस्तै उनले समाजका लागि केही भएपनि योगदान दिन्छु भनेर आबद्ध भएकी एक १७ वर्षीय कार्यसमिति सदस्यलाई राजीनामा गर्न लगाएको पनि आरोप छ । यसलाई बुली गरेको भनेका छन् ।

सचिव खरेलले यति मात्र होइन, अध्यक्ष उप्रेतिले यसभन्दा अघिल्लो कार्यकालको आर्थिक प्रतिवेदन तीन महिनाभित्र अडिट गरी पारित गर्नुपर्नेमा अध्यक्षकै कारण ९ महिना लागेको आरोप पनि लगाएका छन् ।

पत्रमा संस्थाको सचिवको रुपमा मनोनयन गर्दा आफु गुल्मी समाजको अध्यक्ष रहेको र दुबैतिरको कार्यबोझले राम्रो प्रदर्शन हुन नसक्ने हो कि भन्ने ठानेर एक वर्ष कार्यकाल बाँकी रहँदै नेतृत्व हस्तान्तरण गरी न्याभमा आबद्ध भएको बताएका छन् ।

सभापति उप्रेतिले विभिन्न सार्वजनिक स्थानमा र व्यक्तिहरुलाई पनि सचिवले काम नगरेको, सूचनाहरु लुकाएको भनेर लगाएका आरोपलाई पनि प्रष्ट पार्दै स्क्रिनसट सहित आफुले सदैव सभापतिकै मातहतमा रहेर जानकारी गराएरै काम गरेको बताएका छन् । उनले संस्थाकी उपाध्यक्ष ललिसा थापालाई यहाँको राज्य सरकारको तर्फबाट दिइने एवार्ड मनोनयनका क्रममा आएको असामञ्जस्यको वातावरण स्वयं अध्यक्ष र कोषाध्यक्षले समयमा ईमेल सेवा प्रदायकलाई भुक्तानी गर्न नसक्दा निम्तिएको बताएका छन् । सचिवले व्यक्तिगत ईमेल प्रयोग गरेको भनी लगाइएको आरोपलाई पनि उनले सत्यताभन्दा पर रहेको प्रतिक्रिया आफ्नो पत्रमा दिएका छन् । सचिव पदबाट हटाउने बारम्बारको प्रयासबाट आजीत भएर आफुले न्याभको फेसबुक ग्रुपमा राजीनामा दिने कुरा गरेको र ग्रुप छोडेको उनले स्वीकार गरेका छन् ।

अब के हुन्छ ?

खासमा सामाजिक र सामूदायिक संघसंस्थामा निःशुल्क रुपमा काम गर्नुपर्ने भएका कारण स्वतस्फुर्त आबद्ध हुन लागि स्वयंसेवीहरु आउनुपर्ने हुन्छ । न्याभमा देखिएको यो विवादले समाजका लागि समय दिनुभन्दा अरु आयआर्जनकै अन्य काममा लाग्ने हो कि भन्ने चिन्तन बढ्ने खतरा देखाएको छ । हामीसँगको सम्पर्कमा अध्यक्ष प्रेम उप्रेतिले यी आरोपहरुलाई खासै गम्भीर रुपमा लिनुपर्ने आवश्यकता नरहेको प्रतिक्रिया दिए । उनलाई हामीले पटक पटक सबैलाई समेटेर लैजाने दायित्व नेतृत्वका हुन्छ कतै कुनै व्यवहारगत कमजोरी भएको हो कि त्यसलाई स्वीकारेर जाने अवस्था हुँदैन भन्ने प्रश्न गर्दा उनले त्यस्तो अवस्था नरहेको बताएका छन् ।

दुबै पक्ष आफ्ना आरोपहरु, बचाउका तर्कहरुका साथ अडानमा रहेको यो बेलामा समाजका अगुवाहरु अथवा भनौं पूर्वअध्यक्षहरु र सल्लाहकारहरुले यसमा मध्यस्थता गर्नु सबैभन्दा उत्तम हुन्छ । तर, विधानमा अधिकार नै नभएका कारण यस्तो गर्न अप्ठेरो पर्ने तर्क गर्नेहरु पनि छन् । यसबाहेकको अवस्थामा गैरनाफामूलक संघसंस्थाका गतिविधिलाई हेर्ने सरकारी निकायमा उजुरी र तिनले नै निक्र्यौल निकाल्नु अर्को विकल्प हुनसक्छ । तर, यसले भिक्टोरियामा रहेका नेपालीहरुको वास्तविक किचलो भने यी निकायहरुका सामू ल्याइदिनेछ जसले समूदायकै छविमा दीर्घकालीन नकारात्मक असर पर्ने पक्का छ ।