‘अष्ट्रेलियाको कुनै शहरलाई काठमाडौंसँग सिष्टर सिटी बनाउने छलफलमा छौं’

‘अष्ट्रेलियाको कुनै शहरलाई काठमाडौंसँग सिष्टर सिटी बनाउने छलफलमा छौं’

- सुनीता डंगोल, उपमेयर काठमाडौं महानगरपालिका


अष्ट्रेलियाको भ्रमणमा रहनुभएकी नेपालको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले सिड्नी, क्यानबेरा मेलबर्न र होबार्ट शहरको भ्रमण गर्नुभयो । उपमेयर डंगोलको यो दोश्रो औपचारिक विदेश भ्रमण हो । अष्ट्रेलिया सरकारको विशेष निमन्त्रणामा करिब साताव्यापी भ्रमणका लागि आउनुभएकी उपमेयर डंगोललाई हरेक शहरमा पुग्दा त्यहाँको नेपाली समूदायले पनि स्वागत गर्यो र अन्तरक्रिया समेत गरेर उनी लगायत काठमाडौं महानगरपालिका टिमले गरिरहेको कामहरुको विषयमा खुलेरै प्रशंसा भएको छ । युवा नेतृ एवं काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले पनि सकेसम्म धेरै नेपाली समूदायका व्यक्तिहरुसँग अन्तरक्रिया गर्दै उनीहरुका कुरा सुन्ने धैर्यता देखाउनुभएको छ । यसै प्रसंगमा सिड्नी, क्यानबेरा, होबार्टको कार्यक्रम सकाएर शनिबार मेलबर्न आइपुग्नुभएकी डंगोलसँग केविसीखबरका लागि प्रधानसम्पादक चिरञ्जीवी देवकोटाले छोटो सम्वाद गर्नुभएको छ

अष्ट्रेलिया भ्रमणको प्रारम्भ कसरी र कहिले भएको थियो ?

यो भन्दा अगाडीबाट पनि अष्ट्रेलियाको लोकल गभरमेन्टको प्रतिनिधिहरुसँग ट्रेनिङको कुरा भएको थियो। मेरो कार्यकालको पहिलो वर्ष टेबलवर्क गर्ने नै थियो। मैले अफिसियल भिजिट कतै पनि गरिन्। त्यो मैले चाहेर नै नगरेको हो । थुप्रै ठाउँमा जानुपर्ने देखिएता पनि पहिलो वर्ष टेवल वर्क गर्ने सोच थियो । काठमाडौं महानगरपालिकालाई जसरी बुझिएको थियो त्यो भन्दा अझ गहिराईमा बुझ्नु पर्छ भन्ने लागेको हो । महानगपालिकाको धेरै क्षेत्रका कामहरुमा एउटा सिस्टम बसाल्नु पर्ने थियो । त्यसपछि मैले अफिसियल भिजिट गरेको हो । पहिलो भ्रमण चीनमा भयो । त्यो भ्रमण पनि महानगपालिका नेपालसँग जोडिएको उदेश्य थियो। विषेशगरी पर्यटकीय क्षेत्र प्रर्वद्धनका लागि भ्रमण लाभदायक बन्यो । यता अष्ट्रेलियाको वैदेशिक मामिला मन्त्रालयले भ्रमणको निम्ता वैशाख मै दिएको थियो । मैले पनि सन् २०२३ मा जुनसुकै बेला भिजिट गर्ने भनेको थिएँ । अहिले नोभेम्बर भइसक्यो त्यसैले यो वर्षभित्र गर्नपर्छ भनेर यतिबेला यहाँ आएको हुँ ।

तपाईँले भ्रमणका क्रममा अष्ट्रेलियाको तीन तहको सरकारसँग भेट, छलफल र अनुभव आदान प्रदान गर्नुभयो। यस क्रममा तपाईँले के सिक्नु भयो ?

यो भ्रमणमा मैँले यहाँको तीन तहको सरकारसँग नै भेट गरिरहेकी छु। यहाँको संघीयता कसरी काम गर्छ भन्ने कुरा अझ बढी बुझ्न पाइरहेकी छु। यहाँको संघीय, राज्य र स्थानीय सरकारका प्रतिनिधीहरुसँग, राजनीतिक तहमा, कर्मचारी तहमा पनि कुराकानी भएका छन् । साच्चिकै भन्ने हो भने एउटा के सिकिस् भनेर सोध्नुभयो भने गाह्रै हुन्छ होला। यती धेरै कुरा सिकिएको छ। नेपालको र अष्ट्रेलियाको तुलना गर्दा धेरै कुरा सिकिएको छ। मेरो भ्रमण अझै पुरा भएको छैन्। अझै सिक्ने प्रक्रियामै छु। सबै भन्दा ठुलो यदी एउटामात्र भन्ने हो भने यहाँ कसरी सिस्टमले काम गर्छ भन्ने कुरा सायद सबै भन्दा ठुलो सिकाइ हो यो भ्रमणको जस्तो लाग्छ । यहाँ जो जता संसारको जुन कुनाबाट आएपनि यहाँको नियम कानुनहरु मानिरहेको हुन्छ। फरक राष्ट्र फरक फरक निति कानुन सिस्टम हुँदा हुँदै पनि यहाँ आइसकेपछि मान्छे यहाँकै सिस्टममा बस्छ । यसमा सरकारको नियम के छ भन्ने कुराहरु हेर्न पाउँदा बुझ्न पाउँदा एकदमै प्रभावित भएकी छु। जुन कुरा नेपालमा पनि लागु गर्नुपर्ने देखिएको छ। केही सामाजिक र आर्थिक कारणले अवरोध त होला तर लागू गर्न नसकिने भन्ने कुरा होइन । राज्यको आफ्नो कानुन जनतालाई लागु गर्नको लागि एउटै ट्र्याकमा ल्याउनको लागि एसियाको मात्र छैन अमेरिकाका पनि छ युरोपको पनि छ। प्रभाव यती धेरै भएको देशमा तर पनि सबैजना त्यो सिस्टममा अभ्यस्त छन् त्यसलाई मान्छन् । यो कुरा चाही एकदमै महत्वपुर्ण सिकाइ भयो ।

शायद तपाईंले भन्न खोज्नुभएको मेल्टिंग पट जस्तो । विगतको ईतिहासमा भेटिने काठमाडौं जस्तो । जो जहाँबाट आएपनि काठमाडौंकै भाषा, संस्कृति, परम्परा र नियम कानून मानेर बस्यो भनेको जस्तो ? पुरानो काठमाडौं फर्काउने भन्ने भाव आयो ?

त्यो त मलाई पहिला पनि लाग्थ्यो। किन भने काठमाडौँको सभ्यता जे हो त्यसैलाई जोगाएर राख्नुपर्छ। काठमाडौँ जुन सांस्कृतिक सहर हो। त्यसलाई सांस्कृतिक सहर नै बनाइराख्नु पर्छ। त्यो रिभाइभ पनि गर्न पर्छ। संघीय राजधानी भएको सहरलाई चाहिने पूर्वाधारहरु र महत्वपुर्ण पक्षहरुलाई हामीले प्राथामिकता दिनुपर्छ। पूर्वाधार निर्माण गर्दा काठमाडौँको सभ्यतालाई मास्नु दिनु हुँदैन्। त्यो कारणले गर्दा खेरी पनि थुप्रै रिभाइभ गर्ने कार्यक्रमहरु पनि हामीले काठमाडौँमा गरिरहेका छौँ । जस्तै पहिले देखिको एपिथिएटर कल्चर भनेको दबु हो। डबलीमा आउने नाचगान, नाटक, कविता वाचन गर्ने थुप्रै कुराहरु त्यो कल्चर थिए। जसले गर्दा क्रियटिभ मान्छेहरुले आफ्नो करियर त्यहीबाट सुरु गरेका थिए । अहिले हामीले “रिभाइभ दबु”को कार्यक्रमलाई अगाडी बढाइरहेका छौँ। काठमाडौँका चोक चोकमा भएका डबलीहरुलाई फेरी जिवन्त बनाइरहेका छौँ। त्यो कामहरु एकदमै महत्वपुर्ण छ। म तास्मानियाको होबार्टमा जाँदा त्यहाँ पनि विस्तारै नेपाली संघसंस्था र संगठनहरुको विस्तार भइरहेको पाए। त्यहाँको बिकास जे जस्तो भएपनि वातावरण संरक्षणमा सम्झौता गर्दैनौँ भन्ने भाव स्थानीयको रहेको जानकारी पाइयो । अर्को कुरा भन्दा त्यहाँको बाताबरणको संरक्षणको कुरा हेर्दा त्यहाँ प्रयोग हुने सामानहरु चाहे सरकारी कार्यालयमा होस, अथवा रेस्टुरेन्टमा जाँदा खेरी पनि फरक देखेँ। त्यहाँ रिसाइकल रियुजको कन्सेप्ट व्यवहारमा देखियो । त्यहाँका रेष्टुरेन्टहरुमा स्क्रयाच भएको सामानहरु प्रयोग गरेको पाएँ । तर त्यो किन रैछ भनेर बुझ्दा त्यो सामान पुन प्रयोग गर्ने अवधारणा रहेछ। यसले गर्दा कम फोहर उत्पादन हुन्छ । यस्तो खालको कन्सेप्ट सिटीले आफ्नो भिजन बनाउँदा कसरी अघि बढ्ने भन्ने केन्द्रमा राख्छ । विकास पनि साथसाथै हुन्छ । तर बातावरणीय प्रभावलाई भने पहिलो प्राथामिकतामा राखिन्छ।

अब केही क्षेत्रहरु बुँदागत रुपमा सोध्छु । अष्ट्रेलियाको भ्रमणको क्रममा यहाँको महानगर नगरहरुभित्र फोहर व्यवस्थापनबाट के सिक्नुभयो ?

खासमा हामीले दिगो फोहर व्यवस्थापनको अवधारणा लिने प्रयास गरेका छौं । अष्ट्रेलियामा पनि मैले सोचेको अवधारणामा धेरै समानता पाएँ । काठमाडौँमा हामीले फोहर व्यवस्थापनको दिगो विकासलाई अध्ययन गर्दाखेरी र यहाँको कार्यान्वयन तहलाई हेर्दाखेरी थ्री आर मा फोकस भएको पाएँ। रियुज, रिसाइकल र रिड्युस कन्सेप्टमा वेस्ट म्यानेजमेन्ट गरिँदो रहेछ। अर्को महत्वपुर्ण कुरा सेग्रिगेसन एट सोर्स अर्थात् फोहर संकलन गर्दाखेरी घरमा नै त्यसलाई छुट्याउने काम हो । अष्ट्रेलियाका हरेक घरमा, बाटो बाटोमा ग्रीन, एल्लो र रेड गरेर तीन खालका विनहरुमा छुट्याएको पाएँ । आम नागरिकहरु पनि त्यो कुरामा सचेत भएको देखियो। यी कुराहरुले राम्रो सिकाइ पनि भएको छ। चाहे जाँड खाएर मातेकै बेलामा पनि सही ठाउँमा फोहर फाल्नुपर्छ भन्ने यहाँका नागरिकहरुको चेतनास्तर रहेको पाएँ । भन्न खोजेको उनीहरु कुन फोहर कहाँ हाल्ने फाल्ने भन्ने कुरामा एकदमै प्रष्ट छन् ।

सिकाईकै कुरामा पिउने पानीको अवस्थाबारे के पाउनुभयो अष्ट्रेलियामा ?

एकदमै ईन्ट्रेष्टिंग पाएँ । ठाउँ ठाउँमा पानीको लागि धारा राखिएको छ । सानो ठाउँमा पनि धारा छ । बाटो बाटोमा पानी पिउनसक्ने बनाइदिएको छ । त्यो राम्रो लाग्यो ।

अष्ट्रेलियामा मानिसहरुले धाराबाट आउने पानी नै सिधै खान सक्छन् । यस्तै अवस्था काठमाडौंमा बनाउन के गर्न सकिएला ? यहाँ पिउने पानीको अवस्था देख्दा त्यसबाट केही आइडिया लिनुभयो ?

नेपालमा तीन तहको सरकार मिलेर काम गर्ने हो भने पक्कै पनि हामीले पनि त्यस्तो गर्न सक्छौं । शायद संघीयताको व्यूटी भनेकै यही हो । एउटामात्र सरकारले सबै कुरा गर्नु पर्छ भन्ने छैन। गर्नु सक्छ भन्ने पनि छैन्। यस्तो बेला कोअपरेसन, कोल्यावरेसन र कोएक्जिस्टेन्स गरी थ्री सीको फर्मूला काम लाग्ने यहीँ नै हो । हामीले नेपालमा यो काम गर्न नसक्ने भन्ने होइन। गर्न सकिन्छ। सिधै धाराको पिउने पानीको कुरा गर्दा पहिलाको हिसावमा धेरै सुधार पनि भएको छ। विषेशगरी मेलम्चीको कुरा छ। यस्ता ठूला परियोजनाहरु एउटा स्थानीय सरकारले भ्याउने कुरा हुँदैन । तर, तीन तहको सरकार मिलेर काम गर्ने हो भने त्यस्तो गाह्रो विषय पनि होइन ।

काठमाडौँको ट्राफिक व्यवस्थापन हेर्नुभएकै छ । अष्ट्रेलियामा पनि महानगरहरुभित्र सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन देख्नुभयो । के पाउनुभयो ?

नेपाल छोडेर अष्ट्रेलिया जस्ता विकसित देशहरुमा जाँदा जहिल्यै पनि त्यहाँको मास ट्रान्सपोर्ट सिष्टम देखेर प्रभावित हुने गरेको छु । किनकि यी मास ट्रान्सपोर्ट एकदमै सिस्टम्याटिक छ। धेरै जनाले आफ्नो गाडी ल्याउनुभन्दा सार्वजनिक यातायात प्रयोग गरेको देख्दा हामीले पनि काठमाडौँमा रिप्लिकेन्ट गर्नुपर्छ भन्ने फिल भएको छ। हामीले पनि काठमाडौँमा सार्वजनिक यातायातमा लगानी बढाउने प्रक्रियामा छौँ। हामी पीपीपी अर्थात् पब्लिक, प्राईभेट पार्टनरशिप मोडलमा पनि गएका छौँ। काठमाडौं जस्तो घना जनसंख्या भएको ठाउँमा त अबको विकल्प भनेको मास ट्रान्सपोर्ट नै हो।

नेपाल अष्ट्रेलिया सम्बन्ध स्थापनाको ६ दशक वितिसकेको छ । अझ यी दुईदेशबीचको सम्बन्ध सदैव सौहाद्र्र नै रहँदै आएको छ । यस भ्रमणसँगै काठमाडौं महानगरपालिकाले अष्ट्रेलियाको कुनै शहरसँग सिष्टर सिटीको कन्सेप्टमा कुरा पनि भइरहेको होला ? कुन सिटीसँग सम्बन्ध गाँस्न सकिन्छ जस्तो लाग्यो ?

अहिलेको भ्रमणको क्रममा समेटिएको एउटा महत्वपूर्ण बुँदा सिस्टर सिटीको पनि हो। मैले हालसम्म चारवटा शहरहरुको भ्रमण गरिसकेँ। चारवटै शहरसँग काठमाडौं महानगरको सिष्टर सिटी सम्बन्ध स्थापनाका बारेमा पनि कुराकानी भएको छ । फेरि यो भ्रमणमा मैले के पाएँ भने यही शहर नै हुनुपर्छ भन्ने रहेनछ । किनकि जुन सिटीमा गएपनि नेपालीहरु हुनुहुन्छ। त्यो एउटा कनेक्टको पाइन्ट पनि छ। अर्को कुरा भनेको क्यापिटल टु क्यापिटल सिटी हुनुपर्छ भन्ने पनि छैन्। यहाँ कल्चरल डाइभरसिटी हेर्यो भने काठमाडौँ महानगरको लागि तास्मानियाको होबार्ट अझै धेरै उपयुक्त छ। मल्टिकल्चर अथवा कल्चर एसेन्स एकदमै महत्वपुर्ण छ भन्ने मलाई लाग्छ। पल्टिकल लेवलमा हेर्ने हो भने क्यानबेरा देखिन्छ। एकदमै ह्यापिनिङ सिटीको रुपमा हेर्ने हो भने सिड्नी र मेलबर्न छ। यहाँ नेपालीहरुको जनसंख्या एकदमै धेरै भएकोले यी दुई सिटी पनि काठमाडौँ महानगरको सिस्टर सिटीमा उपयुक्त छन्। यी सबै सिटीसँग काठमाडौँ महानगरले सिस्टर सिटीको बारेमा कुरा पनि गरेको छ । यी मध्य जुन हुँदा पनि हुन्छ। भ्रमणको क्रममा सबै तहमा कुरा हुँदा यो विषय उठेको छ ।

अष्ट्रेलियाको भ्रमणका क्रममा यहाँका राजनीतिज्ञहरु, कर्मचारीहरु लगायतसँग भेट भइरहेको छ । यस्तो भेटमा यहाँ बस्ने नेपालीको बारेमा चाहीँ उनीहरु के भन्दा रहेछन् ? कस्तो बुझाई पाउनुभयो ?

अष्ट्रेलियामा नेपालीले पारेको प्रभाव एकदमै राम्रो देखियो। यहाँको पोल्टिकल लिडरहरुले नेपाली समूदायले गरिरहेको काम र विभिन्न क्षेत्रमा नेपालीहरुले गरेको योगदानको खुलेर प्रशंसा गरेका छन् । अष्ट्रेलियामा थुप्रे नेपालीहरुले एक अर्कालाई साथ सहयोग गर्ने गरेका छन् । केही समस्या पर्दा केन्द्र सरकारसम्म पनि आफ्ना कुरा राख्न सक्नेगरी सम्पर्क र नेटवर्क बनाएको छ । यसले पनि देखाउँछ कि नेपालीहरुलाई यहाँका राजनीतिक दलहरुले हेर्ने दृष्टिकोण र उनीहरुको सहकार्य प्रष्ट देख्न सकिन्छ । यी यावत कारणहरुले गर्दा सरकार र कर्मचारीतहमा नेपालीहरुलाई हेर्ने दृष्टिकोण एकदमै सकरात्मक पाएँ । विभिन्न शहर राज्यहरुमा त नेपाली भाषा प्रमुख बोलिने भाषामध्येमै पर्दो रहेछ त्यो पनि खुशीको कुरा भयो ।

अष्ट्रेलियाबाट फर्किसकेपछि महानगरको कार्यपालिका बैँठकमा यहाँबाट सिकेर काठमाडौँमा लागु गर्ने गरी केही प्रस्ताव लिएर जाँदैहुनुहन्छ ?

अष्ट्रेलियाको भ्रमणबाट फर्किँदा अहिले नै यही प्रस्ताव लिएर काठमाडौं महानगरपालिकाको बैठकमा जान्छु भन्न त सक्दिन । एकैपटक भन्नुभन्दा के काम गर्न सकिन्छ ? के लागू गर्न सकिन्छ भन्ने बारेमा म सोच्दैछु । धेरै क्षेत्रमा काठमाडौंमा पनि गर्न सकिने चिजहरु छन् । सामाजिक, स्वास्थ्य, पर्यटन, सांस्कृतिक क्षेत्रमध्ये कुनै एक क्षेत्रबाट हामीले सुरुवात गर्न सक्छौं । यहाँको सिकाईलाई त्यताको परिवेशमा लागू गर्नेबारे सोच्न सक्छौं । काठमाडौं फर्किसकेपछि यो विषयले मूर्तरुप लिनेछ ।

समयको लागि धन्यवाद ।

तपाईंहरुले पनि अष्ट्रेलियाको भूमिमा जे गरिरहनुभएको छ त्यसलाई निरन्तरता दिनुहोला । भाषा, संस्कृति, कला बचाउन सकियो भने त्यसले पक्कै पनि नेपालको नै प्रबद्र्धन गर्नेछ । मैले हरेक ठाउँमा जाँदा जसरी नेपालीहरु भेटें, उनीहरुको न्यानो माया पाएँ त्यसको लागि उहाँहरु सबैप्रति आभारी छु । धन्यवाद ।