एनआरएनएको उपाध्यक्षमा गणेश केसीको उम्मेदवारी

एनआरएनएको उपाध्यक्षमा गणेश केसीको उम्मेदवारी


मेलबर्न अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अष्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। संघको ११ औं महाधिवेशनमा हाल उपमहासचिव रहेका केसीले आगामी (२०२३–२५) को कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। 

विगत २८ वर्षदेखी अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका केसीले सन् २००१ मा एनएडिएफको नेतृत्व गर्दै सामाजिक क्षेत्रमा आफ्नो आबद्धता सुरु गरेका थिए। त्यसपछि उनले सामाजिक अभियानलाई निरन्तरता दिने क्रममा आफ्नो यात्रा निरन्तर रूपमा अगाडि बढाउँदै सन् २००५ मा एनआरएनए संस्थापक साधारण सदस्य हुँदै सन् २००७ –२००९ को कार्यकालमा एनआरएनए अष्ट्रेलियाको कार्यकारी सदस्य, सन् २००९–२०११ मा उपाध्यक्ष र सन् २०११–२०१३ मा एनआरएनए अस्ट्रेलियाको अध्यक्ष, २०१३–२०१५ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी सदस्य) हुँदै हाल एनआरएनए आईसीसीका उपमहासचिव तथा एनआरएनए व्यावसायिक शिक्षा ग्लोबल कमिटीका प्रमुख रहेका छन्। 

केसीले आफ्ना मुख्य एजेन्डाहरू सबै माझ साझा गरेका छन्। उनको मुख्य जोड प्राविधिक र व्यावसायिक शिक्षालाई प्रवर्द्धन गर्दै अगाडि बढाउने रहेको छ। प्राविधिक शिक्षालाई ध्यान दिँदै युवा युवतीलाई रोजगारीमा जोड्ने र व्यावसायिक शिक्षालाई नेपालको सात वटै प्रदेशमा सञ्चालन गर्ने उनको एजेन्डा छ। 

अहिले उपाध्यक्षका प्रत्याशी केसी आफ्नो पक्षमा माहौल सृजना गर्न विभिन्न देशको भ्रमणमा गरिरहेका छन्। चुनावी अभियानका क्रममा केसीको पहिलो भ्रमण हङकङबाट सुरु भएको छ। उनले हङकङ र दक्षिण कोरियाको भ्रमण गरेका छन् भने युके, नेदरल्याण्ड, बेल्जियम, डेनमार्क, पोर्चुगल र दुबईको भ्रमण गर्ने योजनामा छन्। भेटका क्रममा उनले आफूलाई मतदान गरी उपाध्यक्ष पदमा जिताउन सबैसँग अपिल गरेका छन्। 

यही अक्टोबर १७ तारिखदेखि हुने संघको ११औँ महाधिवेशनमा विश्वभरिबाट करिब ४२ सय मतदाताले सहभागिता जनाउँदै छन्।