एनआरएनए ओसियाना क्षेत्रीय संयोजकमा उमेश खड्काले उम्मेदवारी दिने

एनआरएनए ओसियाना क्षेत्रीय संयोजकमा उमेश खड्काले उम्मेदवारी दिने


ब्रिस्वेन अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाबाट उमेश खड्काले उम्मेदवारी घोषणा गरेका छन्। आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाडौँमा हुने एनआरएनएको विश्व सम्मेलनमा अस्ट्रेलियाबाट खड्काले ओसियाना क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। 

लामो समयदेखि अस्ट्रेलियालाई कर्म थलो बनाएर सामाजिक कार्यमा सक्रिय खड्काले एनआरएनए क्वीन्सलायाण्ड राज्यको उपसंयोजक, संयोजक हुँदै एनआरएनए अष्ट्रेलियाको प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक सम्पादन गरिसकेका छन्। उनले विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै  ओसियाना क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएको बताए। 

न्यजिल्याण्ड, पप्पुवागिनी (पिएनजी) र अष्ट्रेलिया क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको संख्या बढेसँगै समस्या र चुनौती पनि बढेको भन्दै ती समस्याको समाधानको लागी पहल गर्ने उनले बताए। 

उनले यस क्षेत्रमा बस्ने बौद्धिक व्यक्तित्वहरुको अनुभवलाई नेपालमा स्थानान्तर गर्न लागी पर्ने बताएका छन्। नेपालीको कला संस्कुतिलाई यहाँ हुर्किँदै गरेको नयाँ पुस्तामा स्थानान्तर गर्ने बिषयमा पनि आफूले विशेष योजनाका साथ काम गर्ने उनको भनाइ छ। उनले एनसीसी र आईसीसीसँग सहकार्य गरेर यस क्षेत्रको बृहत्तर हितमा काम गर्ने योजना रहेको खड्काले केबीसी खबरलाई बताए।   

एक दशक भन्दा लामो एनआरएनएको अनुभव भएका खड्का अष्ट्रेलियामा विभिन्न क्षेत्रमा व्यवसायमा आवद्ध छन्। नेपाली समुदायको हकहितका लागि निरन्तर पैरवी गर्ने खड्का अष्ट्रेलियाको क्वीन्सल्याण्डमा बस्दै आएका छन्। 

एनआरएनएको ११ औं विश्व सम्मेलन तथा महाधिवेसन १७ देखि २० अक्टोवरसम्म काठमाडौँमा हुँदै छ। यो सम्मेलनले ८७ देशका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ।