सरोजनीको नेतृत्वमा मेलबर्नकै पहिलो नेपाली स्वामित्वको डेन्टल क्लिनिक पाँचौँ वर्षमा 

सरोजनीको नेतृत्वमा मेलबर्नकै पहिलो नेपाली स्वामित्वको डेन्टल क्लिनिक पाँचौँ वर्षमा 


मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नमा नेपाली स्वामित्वको पहिलो डेन्टल क्लिनिक हो डेन्टल एट हपर्स। “गुणस्तरिय सेवा”लाई आफ्नो मूल मन्त्र बनाएको डेन्टल एट हपर्सले अत्याधुनिक उपकरणबाट दाँत सम्बन्धी सम्पूर्ण समस्याको उपचार गर्ने गरेको सेवाग्राहीको मत छ। 

सात वर्षसम्म अष्ट्रेलियाका निजी, पब्लिक तथा कर्पोरेट डेन्टल क्लिनिकमा काम गरेको अनुभव संगालेपछि डा. सरोजनी मास्केले पारिवारिक व्यस्तता र कार्यस्थलको दुरीका कारण अष्ट्रेलियामा आफ्नै क्लिनिक सञ्चालन गर्ने योजना बनाइन्। यो योजनाले एउटा रेकर्ड कायम गर्दै मेलबर्नमा नेपाली स्वामित्वको पहिला डेन्टल क्लिनिक बन्यो ‘डेन्टल एट हपर्स’ । 

यो योजनामा उनी एक्लै थिइनन्। उनका साथमा उभिएका थिए श्रीमान् राजन मास्के। २०१८ जनवरीमा संचालनमा आएको यो क्लिनिकले गुणस्तरीय सेवाको पाँचौँ वार्षिकोत्सव मनाइसकेको छ। यसलाई आफ्नो पारिवारिक व्यवसाय भन्न रुचाउने डा. सरोजनीले केहीलाई रोजगारीसमेत दिएकी छन्। 

डा सरोजनी मास्के र उनका श्रीमान् राजन मास्के

नेपालमा ललितपुर महानगरपालिका–७ मा जन्मेकी सरोजनीले अरनिको सेकेन्डरी स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी थिइन्। काठमाडौँकै सिद्धार्थ वनस्थली सेकेन्डरी स्कुलबाट विज्ञान विषय लिएर १२ पास गरेपछि उनले डेन्टल पढ्ने विचार गरिन्। 

उनी दक्षिण भारतको मणिपाल कलेज अफ डेन्टल साइन्समा भर्ना भइन्। सन १९९९ मा दाँत सम्बन्धी पढाइ पूरा गरेकी सरोजनी मास्केले नेपाल फर्केर नेपालका विभिन्न अस्पतालमा दन्त चिकित्सकका रूपमा अनुभव संगालिन् ।  

६ वर्ष नेपालका बिभिन्न अस्पतालमा काम गरेको अनुभवपछि सन् २००६ मा पब्लिक हेल्थ पढ्न अष्ट्रेलिया पुगिन् सरोजनी । श्रीमान् राजन मास्केसँगै अष्ट्रेलिया उडेकी उनले पब्लिक हेल्थको पढाइ सकेर आफ्नो रुचि भएको क्षेत्रकै काम गर्न खोजिन्। अष्ट्रेलियामा उनले दन्त चिकित्सक भएर काम गर्न अष्ट्रेलियाको डेन्टल काउन्सिलले लिने परीक्षा २००९ मा पास गरिन्। 

आफ्नो कार्य अनुभव र अष्ट्रेलियाको आधुनिक उपकरणसँग खेल्दै डा सरोजनी अब्बल दन्त चिकित्सकको रूपमा परिचय दिन सफल भइन् । 

क्लिनिक व्यवस्थापन लगायतमा श्रीमान् र छोरीको बलियो साथ उनलाई रहँदै आएको छ। मेलबर्नमा स्थानीय र नेपालीहरूको संख्या बढ्दो छ। नेपाली दन्त चिकित्सक छन् भन्दै धेरै नेपालीहरूले क्लिनिकलाई खोज्दै आउने गरेको डा सरोजनी बताउँछन्। नेपालबाट अष्ट्रेलिया आएका अभिवाकलाई दाँत सम्बन्धी उपचार गराउन आफ्नो क्लिनिकमा सहज हुने उनको धारणा छ। 

आफ्नो समस्या भन्न अंग्रेजीमा ठ्याक्कै शब्द नहुने भएकाले त्यस्ता नेपालीहरूलाई नेपाली भाषा नै बोल्ने चिकित्सकसँग उपचार गराउन सहज हुने सेवाग्राहीले बताउने गरेका छन्। 

डेन्टल एट हपर्सले नेपाली मात्र नभएर यहाँका स्थानीयहरूलाई  पनि सेवा पुराउँदै आएको छ। 

डेन्टल एट हपर्समा ओरल सर्जरी विशेषज्ञ डा नासेर अलबारबारी, डेन्टिस्ट डा विधी आहुजा, डेन्टिस्ट डा नरगिश सुल्ताना, डेन्टिस्ट डा फैजा काजमी कार्यरत रहेका छन्। यी सबैको नेतृत्व डा सरोजनी गर्छिन्। यति मात्र होइन भिक्टोरियामा रहेका नेपाली भाषीका संघ–संस्थादेखि चाइल्ड केयरहरुमा पनि दन्त परामर्श दिने गर्छन् डा सरोजनी। 

डा सरोजनी मास्के

दाँतको समस्या भएपछि मात्रै उपचार गराउने भन्दा दाँतमा समस्या नै नहोस् भनेर नियमित दन्त चिकित्सक कहाँ जाने बानी राम्रो हुने उनको सल्लाह छ । डा सरोजनी भन्छिन्, बालबालिकाको दाँतमा किरा लाग्ने समस्या प्रमुख रूपमा देखिएको छ भने वयस्कमा गिजा सम्बन्धी समस्या रहेको छ। यस्तो समस्याको मुख्य कारण जनचेतनाको अभावलाई दर्साउँछन्। त्यसै कारण नियमित दिनको दुई पटक दाँत माझ्ने, ६-६ महिनामा दन्त चिकित्सक कहाँ गएर दाँत सफा गर्ने र बालबालिकालाई नियमित जाँच गराउने गर्नाले मुखको स्वास्थ्य कायम गर्न सकिने उनको सुझाव छ। 

यो सबै कुरालाई ध्यान दिएर अष्ट्रेलिया सरकारले पनि दाँत सम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर २ देखि १७ वर्षसम्मको बच्चाको उपचारको लागि मेडिकेयरले नै समेट्ने गरेको बताइन्। उक्त मेडिकियरको सहुलियत पाउनको लागि भने निश्चित सर्त पुरा गर्नुपर्ने हुन्छ । सरकारले दिएको उक्त सहुलियतलाई यहाँ रहेका नेपाली भाषीहरुले समेत सदुपयोग गर्नुपर्नेमा उनले जोड दिइन्। 

तस्बिरः डेन्टल एट हपर्सको साइटबाट