दुई घण्टा स्पष्टीकरण दिएपछि पारित भयो प्रचण्डको राजनीतिक प्रतिवेदन

दुई घण्टा स्पष्टीकरण दिएपछि पारित भयो प्रचण्डको राजनीतिक प्रतिवेदन



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ । करिब दुई घण्टा उठेका प्रश्नको जवाफ दिएपछि हलले तीन मिनेट ताली बजाएर उनको प्रतिवेदनलाई पारित गरेको थियो ।

स्पष्टीकरणमा प्रचण्डले सबैको भावनालाई समेटेर लैजाने बताएका थिए । यससँगै आज शनिबार माओवादी केन्द्रको अधिवेशन सम्पन्न हुँदैछ । चुनावपछि विशेष अधिवेशन गर्नेगरी अधिवेशन सकिन लागेको हो ।

माओवादीभित्र २५ वटा समूह बनाएर छलफल भएको थियो भने समूहका नेताले निष्कर्श सुझावका रुपमा प्रस्तुत गरेका थिए । मुख्यत केन्द्रीय नेतृत्वको व्यक्तिवादी प्रवृत्तिको आलोचना अधिकांश समूहबाट भएको थियो ।

विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको सम्बोधन भएर सो प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ । माओवादीले सहमतिमै नेतृत्व र केन्द्रीय कमिटी चयन गर्ने बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचारको निर्माण गर्न चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा आफ्नो दस्तावेजमाथि उठेका प्रश्नमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधिबाट आएका प्रश्न तथा सुझाव समेटेर ठोस विचार विकास गर्न छुट्टै महाधिवेशन गरिने जानकारी गराएका हुन् ।

नेकपा माओवादी केन्द्रको जम्मा सम्पत्ति ६६ करोड रुपैयाँ बराबरको रहेको प्रतिवेदन लेखा आयोगले दिएको छ।
आठौँ महाधिवेशनअन्तर्गत पेश भएको केन्द्रीय लेखा आयोगको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ। लेखा आयोगको प्रतिवेदन अनुसार माओवादीको कूल स्थिर सम्पति ६६ करोड छ।
त्यस्तै चालु दायित्व १ लाख ६६ हजार रहेको छ। यो वर्ष ६९ लाख आम्दानी भएको छ। गत वर्ष ५४ लाख आम्दानी भएको लेखा आयोगले जनाएको छ। माओवादीलाई ८ लाख ८७ हजार वार्षिक ऋण रहेको पनि आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।