सिरिन्ज नै सकिएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित

सिरिन्ज नै सकिएपछि फाइजर खोप अभियान तत्कालका लागि स्थगित


काठमाडौं, १२ पुस । सरकारले पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान केही दिनको लागि स्थगित गरेको छ । फाइजर खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्ज केही ढिला गरेर आउने भएकोले तत्कालका लागि खोप अभियान स्थगित गरेको स्वास्थ्य सेवा विभाग खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो ।
घोलक आउनेबित्तिकै खोप अभियान सुरु गर्ने भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘खोपलाई आवश्यक पर्ने घोलक आएपछि खोप अभियान सुरु गर्छौं, अहिले कहिलेदेखि खोप अभियान सुरु गर्ने भनेर मिति तोकिएको छैन । सायद, आठ–दश दिनमा अभियान सुरु हुन्छ ।’
फाइजर खोप अभियानको लागि फाइजर कम्पनिले बनाएको ०.३३ एमएमको सिरिन्ज आवश्यक पर्छ । खोप अभियानको लागि छ लाख ६४ हजार ६५० मात्रा फाइजर खोप आइसकेको छ ।
पुस २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै पुस १३ देखि २२ गते आठ जिल्लामा फाइजर खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको थियो ।