बारा र चितवनमा ६० प्रतिशत मत खस्दा तनहुँमा कति ?

बारा र चितवनमा ६० प्रतिशत मत खस्दा तनहुँमा कति ?


काठमाडौँ ।

चितवन क्षेत्र नम्बर २ को उपचुनावमा ६० प्रतिशत मत खसेको छ । यस क्षेत्रमा गत मंसिरको भन्दा कम मत खसेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंसिरमा ६७.६३ प्रतिशत मत खसेकोमा अहिले ६० प्रतिशत भन्दा कम मत खसेको छ ।

यस्तै बारा क्षेत्र नम्बर २ मा ६० प्रतिशत मत खसेको छ । आज भएको उपचुनावअन्तर्गत मतदानमा बारामा ६० प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

कडा सुरक्षाका बीच शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उनले बताए । उनले उपचुनावको मतगणना आजैबाट कलैया उपमहानगरपालिका वडा नम्बर ३ को शैक्षिक तालिम केन्द्रमा राति ९ बजेबाट सुरु गरिने जानकारी दिए ।

मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।

कोल्हवी नगरपालिकाको वडा नम्बर ८, महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकाको ४४ वटा वडा समेटिएको यो निर्वाचन क्षेत्रमा ५८ हजार नौ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेका छन् । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा ५२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ५२ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी गराइएको छ ।

प्रारम्भिकमा ५० देखि ५२ प्रतिशत मत खसेको आंकलन गरिएको र ठ्याक्कै तथ्यांक केहीबेरमा आउने उनले बताए । गत मंसिरमा भएको निर्वाचनमा ५४ प्रतिशत मत खसेको थियो ।