Logo

मैथिल र थारु समुदायको जितिया पर्व सुरु



काठमाडौं, ११ असोज । सन्तानको दीर्घायुको कामनाका साथ मनाइने जितिया पर्व मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । सो अवसरमा प्रदेश नं. २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्णले पोखरी घाटमा पुगेर महिलाहरुलाई जितिया पर्वको शुभकामना दिनुभएको छ । उहाँसँगै संविधानसभा सदस्य निशा साह, महिला नेतृहरु सुनिता महतो, लाता घिमिरे लगायतका महिला नेतृहरुले खडक नगरपालिका ८ विसनपुरको पोखरी घाटमा पुगेर शुभकामना दिनुभएको छ ।

व्रत बस्नुअघि आश्विन कृष्णसप्तमी तिथिका दिन बिहान व्रतालुहरुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, शख्खर र तोरीको तेल जिमुतवाहन देवतालाई चढाइ पूजापाठ गरेका छन् । चढाएको तेल सन्तानलाई टाउकोमा लगाइदिनाले रोगव्याधि नलाग्ने तथा दीर्घायु हुने धार्मिक विश्वास रहेको खडक नगरपालिका ८ विसनपुरकी शर्मिला यादवले बताउनुभयो ।

व्रतको पहिलो दिन सोमबार महिलाहरुले घिरौलाको पातमा भगवान् जिमुतवाहन र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा, दही र अमोट खाएका छन् । व्रतालु महिलाले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खान्छन्, जसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ । एकल महिला र ब्रत बसेका महिलाहरुले भने कोदोको रोटी, साग, फलफूल खाएका छन् ।

मैथिल र थारु समुदायका महिलाहरूले सन्तानको दीर्घायुका लागि मनाउने यो पर्व यस वर्ष मंगलबार विहान ३ बजेदेखि विधिवत रुपमा उपवासमा बसेपछि शुभारम्भ हुँदैछ । आश्विन कृष्ण अष्टमी तिथि मंगलबार विहान ३ बजेदेखि सुरु भएको र बुधबार बेलुका ५ः२० बजे समाप्त भई पारायण गरी प्रसाद ग्रहण गरेपछि मात्र सम्पन्न हुने विसनपुरका जानकार रामचलितर यादवले बताउनुभयो । आश्विन कृष्णपक्षको अष्टमी तिथिभरि निराहार व्रतमा रहनुपर्ने र नवमी तिथिको प्रवेश भएपछि मात्र जितिया पर्व पूरा हुने भविष्य पुराणमा उल्लेख गरिएको यादवले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष बिहान महिलाहरुले खाने अंगुठन नरहेकोले यस वर्ष तिजियाको अंगुठन नखाइने भएको छ।

अष्टमी तिथि लाग्नुभन्दा पहिले नै व्रतालु महिलाले भोजन गरिसक्नुपर्ने हुन्छ । त्यसपछि, पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात बुधबार बेलुका ५ बजेर २० मिनेटमा मात्र पारायणको प्रसाद ग्रहण गरी भोजन गर्न पाउँछन् । तिथिको समयको हेरफेरका कारण ओटघनको मंगलबार बिहान काग कराउनुभन्दा पहिल्यै (खानेकुरा ओठमा लगाउने विधि) साइत रहेको यस वर्ष व्रतीहरुलाई ३६ घण्टाको उपबास बस्नुपर्नै पंडित धनञ्जय झाले बताउनुभयो।

नियमपूर्वक पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वासका कारण जितिया पर्व मनाउँदै आएको खडक नगरपालिका ८ की पुनम कर्णले बताउनुभयो । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने तराई मधेसमा उसको आमाले खड् जितिया गरेकी रहिछन् भन्ने गरिन्छ ।

व्रतालुहरुले पितृपक्ष परेकाले दिवङ्गत सासू, आमाको नाममा आत्माको शान्तिका लागि उनीहरूको नाममा सधवा महिलालाई निम्तो दिई भोजन गराएका छन् । भोजन गर्ने महिलालाई पितराइन भन्ने गरिन्छ।

व्रतालुहरुले मङ्गलबार नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गरी व्रतको सङ्कल्प गरेर घरमा आई डाली भर्छन् । डालीमा बाँसको पात, ओखरी (फुलाएको केराउ, मुंग) नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिला भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भका बारेमा पाका महिलाले कथावाचन गर्छिन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनलाई गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोको चिलको आकृति बनाउँछ र हाँगामुनि स्यालको आकृति बनाउँछ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छिन् ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वको सामाजिक, धार्मिक र सांस्कृतिक तथा तान्त्रिक महत्व छ ।

जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रुपमा पनि लिइन्छ ।

जितिया, दसैं, दशमी, दशमी बिसे

सुकराति, सुकराति छवे छठी ।।

अर्थात जितियाको दश दिनपछि दशै, दशैंको २० दिनपछि तिहार र तिहारको छ दिनपछि छठको रौनकता प्रस्ट्याएको छ ।