होबार्ट अष्ट्रेलिया ।
सिएसी फाउन्डेसनको स्थापना भएको छ । अष्ट्रेलियामा रहेका आप्रवासी र शरणार्थीका विभिन्न मुद्दामा सहयोगी भूमिका खेल्ने उद्देश्यका साथ सिएसी फाउन्डेसनको स्थापना भएको हो ।
२०२२ मा भिक्टोरियामा आफ्नो कार्यालय स्थापना गरेको सिएसीले हालैका दिनमा तास्मानियामा पनि शाखा विस्तार गरेको छ ।
भिक्टोरियामा सिएसी स्थापनाको उद्घाटन समारोहमा भिक्टोरिया राज्य सरकारकी शिक्षामन्त्री माननीय नताली हुचेनको उपस्थिति रहेको थियो । मन्त्री हुचेनले सिएसीको भिक्टोरिया कार्यालयको उद्घाटन गरेकी थिइन् ।
सिएसी फाउन्डेसनको थप आवश्यकता महसुस गरेर यही मार्च १५ तारिख बुधवारका दिन तास्मानियाको होबार्टमा पनि शाखा विस्तार गरिएको छ । सिएसी होबार्ट स्थापनामा समारोहमा संस्थाका अध्यक्ष सचिन योञ्जन, उपाध्यक्ष बम योञ्जन र सचिव खिम गौतम, एबीसी होबार्टका स्टेसन म्यानेजर सामान्ता स्ट्रायानर, तास्मानिया हस्पिटालिटी एसोसिएसनका प्रतिनिधि लियन ल्याकह्वील, नेपाली सोसाइटी अफ तास्मानियाका अध्यक्ष तोयाराज भट्टराई, नेप्लिज विजनेस एसोसिएसन तास्मानियाका सचिव उमेश सेन्चुरी, एनआरएन तास्मानियाका सह–सचिव चन्द्र हाइजुको उपस्थिति रहेको थियो ।
उक्त उद्घाटन कार्यक्रमलाई सिएसी फाउन्डेसनका सचिव गौतमले संचालन गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका सचिव गौतमले तास्मानियामा रहेका विभिन्न आप्रवासी तथा शरणार्थीलाई सहयोग गर्ने उदेश्यले होबार्टमा सिएसीको स्थापना गरिएको बताए । संस्थाका उपाध्यक्ष बम योञ्जनले अष्ट्रेलियामा रहेका विभिन्न नेपाली संघ संस्थासँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता गरे । सिएसीको अध्यक्ष सचिन योञ्जनले संस्थाले भिक्टोरिया र तास्मानियामा रहेका आप्रवासी र शरणार्थीहरुलाई विभिन्न सेवा प्रदान गर्न जानकारी दिए । उनले सिएसी फाउन्डेसनले शिक्षा, रोजगार, कानुनी परामर्श, र अन्तराष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियाको रोजगारी बजार र कानुनी प्रक्रियाबारे आवश्यक जानकारी उपलब्ध गराउने बताए ।
सिएसीको सामान्य परिचय
सिएसी लाभदायक संस्था नभएकाले यसले शरणार्थीहरू र तिनीहरूका परिवारहरू, धेरै कमजोर आप्रवासीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विभिन्न प्रकारका सेवाहरू प्रदान गर्ने छ । संस्थाले गम्भीर मानसिक स्वास्थ्य समस्याहरू, घरबार विहीनता, चरम गरिबी र गम्भीर आर्थिक समस्यामा परेकालाई आवश्यक सहयोग गर्ने छ । फाउन्डेसनले गम्भीर संकट, निराशा, गम्भीर अपाङ्गता र आर्थिक कठिनाइको सामना गरिरहेका आप्रवासी र शरणार्थीको पक्षमा वकालत, क्षमता अभिवृद्धि, आपत्कालीन राहत र सामग्री सहयोग प्रदान गर्ने छ । संस्थाको कोषको स्रोत सरकारी र परोपकारी दाता दुवै हुने छन्। संस्थाले सामुदायिक, निजी र सरकारी क्षेत्रसँगको साझेदारीमा काम गर्ने छ । यस संस्थाले समुदायमा सबैभन्दा धेरै पीडित परेकाहरूलाई राहत प्रदान गर्ने छ ।
प्रतिक्रिया